काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षको यसै अवधिको तुलनामा ६१ दशमलव ३६ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष १ अर्ब ८ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको यस कम्पनीले यो वर्ष १ अर्ब ७५ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो ।
दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने १ अर्ब रूपैयाँभन्दा बढी रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा ७५ करोड ४६ लाख रूपैयाँभन्दा बढी थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा भने गत वर्षभन्दा करीब ६२ प्रतिशत बढी छ । गत वर्ष १ अर्ब ५५ करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष २ अर्ब ५१ करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको छ ।
यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट १६ दशमलव ५१ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको छ । यसर्थ कम्पनीको चुक्तापूँजीमा कुनै परिवर्तन भएको छैन । कम्पनीको चुक्तापूँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रूपैयाँ कायम रहेको छ ।
कम्पनीको रिटेन्ड अर्निग २ अर्ब ३९ करोड रूपैयाँभन्दा बढी र जगेडा कोष रकम ६ अर्ब ६३ करोड रूपैयाँभन्दा बढी रहेको छ । गत वर्षभन्दा करीब १० प्रतिशत बढी निक्षेप संकलन गरेको कम्पनीले २ दशमलव ३२ प्रतिशत बढी मात्र कर्जा प्रवाह गरेको छ । कम्पनीले १ खर्ब २ अर्ब ७१ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ८१ अर्ब ३ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
गत वर्ष शून्य दशमलव ४४ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष बढेर शून्य दशमलव ७२ प्रतिशत पुगेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ३७ रूपैयाँ १९ पैसा र प्रतिशेयर नेटवर्थ १९५ रूपैयाँ ७३ पैसा छ ।