ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

खराब कर्जाले बैंकको नाफा प्रभावित : आठओटा बैंकको नाफा घट्यो

२०७९ माघ, ८  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमास (साउन–पुस) सम्ममा बैंकहरूको नाफा प्रभावित भएको छ । कोभिड–१९ महामारी तथा रूस–युक्रेन युद्धका कारण तरलताको दबाब झेलेका बैंकहरूको खराब कर्जा वृद्धि हुँदा नाफासमेत प्रभावित भएको छ ।

शनिवारसम्म लेखापरीक्षण नभएको वित्तीय विवरण प्रकाशित गरेका २० ओटा बैंकले चालू आर्थिक वर्षको पुससम्ममा कुल २९ अर्ब ८७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ दशमलव ८५ प्रतिशत मात्र बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकहरूले २९ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ नाफा गरेका थिए । गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा बैंकहरूको नाफा १० प्रतिशतले बढेको थियो । नेपाल इन्भेष्टमेण्ट र मेगा बैंक मर्जर भई बनेको नेपाल इन्भेष्टमेण्ट मेगा र एनसीसीसँग मर्जर गरेको कुमारीले वित्तीय विवरण प्रकाशित गर्न बाँकी छ ।

वित्तीय विवरण प्रकाशित गरेका बैंकमध्ये एक दर्जनको नाफा गत आवको तुलनामा वृद्धि भएको छ । सबैभन्दा बढी एभरेष्ट बैंकको नाफा ८९ दशमलव २९ प्रतिशतले बढेको छ । आठओटा बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा घटेको छ । सबैभन्दा धेरै कृषि विकास बैंकको खुद नाफा १०९ प्रतिशतले घट्दा १२ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ । कृषि बैंकको कर्जा नोक्सानीबापत व्यवस्थाको रकम वृद्धि भएपछि यस्तो भएको हो ।

यसैगरी ४ दशमलव ४७ प्रतिशतले नाफा वृद्धि गरेको ग्लोबल आइएमई बैंकको वित्तीय विवरणमा मर्जरअघि बैंक अफ काठमाण्डूले गरेको नाफा जोडेर तुलना गर्दा ४ दशमलव ३७ प्रतिशतले घटेको छ । ग्लोबल आइएमईको चालू आर्थिक वर्षको नाफामा मर्जर गर्दा प्राप्त भएको ४५ करोड २५ लाख नाफा जोडिएको छ । यसैगरी गत आर्थिक वर्षको दोस्रो त्रैमासिकको नाफामा पनि ७१ करोड ९३ लाख नाफा जोडिएको छ । सेञ्चुरी बैंक प्राप्त गरेको प्रभुको नाफा पनि ७५ दशमलव ३७ प्रतिशतले घटेको छ । सेञ्चुरीको नाफा नजोड्दा ४ दशमलव ९२ प्रतिशत मात्र नाफा घटेको थियो ।

तर, बैंकको वित्तीय विवरणमा सेञ्चुरीबाट ७१ करोड १२ लाख रुपैयाँ घाटा लिइएको उल्लेख गरिएको छ । प्रभुको नाफामा सेञ्चुरीले गत आर्थिक वर्षमा गरेको ७२ करोड २१ लाख थपिएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको नेपाल बंगलादेश बैंकको नाफा नजोड्दा ५६ दशमलव ६७ प्रतिशत नाफा गरेको नबिल बैंकको वित्तीय विवरणमा प्राप्तिबाट आएको नेपाल बंगलादेश बैंकको ८१ करोड ११ लाख रुपैयाँ जोड्दा १४ दशमलव २१ प्रतिशतले मात्र नाफा बढेको छ ।

बैंकहरूले वित्तीय विवरण प्रकाशित गर्दा मर्जरबाट आएको नाफालाई वितरणयोग्य नाफा शीर्षकमा मर्जरबाट सारेको (ट्रान्सफर फ्रम मर्जर) शीर्षकमा देखाउने गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)