ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बेनी–जोमसोम सडकको काम सुस्त

२०७९ माघ, ९  
गण्डकी प्रदेश
Jagdamba Supershine Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडक स्तरोन्नति र कालोपत्रको काम तोकिएको समय बितेको दुई वर्षमा पनि पूरा भएको छैन । कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले २०७६ मङ्सिरभित्रै सक्नेगरी बेनी–जोमसोम ७६ किलोमिटर सडक चार प्याकेज बनाई ठेक्का लगाएको थियो । तर सडक विस्तार र कालोपत्र गर्ने काम कछुवा गतिमा छ ।

चीन र भारत जोड्ने अन्तरदेशीय यो सडकको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा स्थानीयवासीका साथै मुस्ताङ जाने र फर्कने पर्यटक मारमा परेका छन् । यस्तै कोरला नाकाबाट नेपाल–चीन व्यापारको सम्भावना पनि क्षीण बनेको छ ।

निर्माण कम्पनीले उपकरण र जनशक्ति परिचालन बढाएर काम नगर्दा सडकले गति लिन नसकेको हो । मुस्ताङ खण्डको तुलनामा म्याग्दी खण्डको प्रगति न्यून छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेनी–जोमसोम सडक कालोपत्र गर्ने काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आगामी असार मसान्तसम्मको समयसीमा दिएको छ । गलेश्वरदेखि–नारच्याङ पुलसम्म २० किलोमिटर सडक स्तरोन्नतिको ठेक्का लिएको शर्मा युनाइटेड जेभी र नारच्याङ पुलदेखि मुस्ताङको घाँसास्थित कैकुखोलासम्मको १७ किलोमिटर सडकको ठेक्का लिएको शर्मा गजुरमुखीले सडक निर्माणमा ढिलासुस्ती गरेको छ ।

अत्यधिक चिसो बढेसँगै मुस्ताङ खण्डको काम ठप्प छ । आयोजनाको शुरू विन्दु गलेश्वरबाट मुस्ताङ सीमावर्ती घाँसासम्मको ४० किलोमिटर (पहिलो र दोस्रो प्याकेज) सडकको काम समेत सुस्त छ । अहिले ८–१० जना मजदूरले टेवा पर्खाल लगाउने काम मात्र गरिरहेका छन् ।

‘बेनी–जोमसोम–कोरला सडकको पहिलो खण्डअन्तर्गत बेनी–जोमसोम ७६ किलोमिटरमध्ये मुस्ताङतर्फको ३८ किलोमिटर क्षेत्रमा अधिक चिसोले काम रोकिएको छ । म्याग्दीतर्फको ३८ किलोमिटर क्षेत्रमा सुस्त काम अति छ,’ कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले भने, ‘दशैं मनाउन गएका मजदूर पहिले निर्वाचनको कारण देखाएर रोकिए, अहिले चिसो छ भनेर फर्केका छैनन् । निर्माण तीव्र बनाउन व्यवसायीलाई ताकेता गरिरहेका छौं ।’

बेनी–घाँसा सडकखण्ड विस्तार गर्न प्राविधिक समस्या रहेको उनले बताए । ‘भीरकाटेमा सुरुङमार्ग बनाउन अध्ययन जारी छ भने रुप्से छहरामा अघिल्लो वर्ष बाढीले बगाएको मोटरेबल पुलको डिजाइनपछि ठेक्का लगाएका छौं, सम्झौता गर्न बाँकी छ,’ उनले भने । आयोजनाका अनुसार गतवर्षदेखि थपिएको पर्वतको मालढुंगा–बेनी १३ किमी र बेनी–गलेश्वर ३ किमी सडकमा काम भइरहेको छ । नालीको पानी पन्छाउने काममा स्थानीयले अवरोध गरेपछि ढिलाइ भएको थियो । मालढुंगा–बेनी सडकखण्डमा ठेक्का लगाएको २ वर्षमा ३५ प्रतिशत काम सकिएको आयोजनाले बताएको छ ।

गलेश्वर–तातोपानी पहिलो प्याकेजमा ७० प्रतिशत, तातोपानी–घाँसा दोस्रो प्याकेजमा ६५ प्रतिशत, घाँसा–कैकुखोला तेस्रो प्याकेज शतप्रतिशत र कैकु–जोमसोम सडकमा ६८ प्रतिशत काम सकिएको प्रजापतिले जानकारी दिए । ‘मुस्ताङतर्फको दुई प्याकेजको कटिङ, फिलिङ, रिटेनिङ वाल र नालीको काम सकिएको छ । गर्मीयाम शुरू भएर कालोपत्र गर्न योग्य तापक्रम पुग्नेबित्तिकै कालोपत्र गर्नेगरी तयार रहन ठेकेदारलाई भनेका छौं,’ उनले भने, ‘म्याग्दी क्षेत्रको दाना खण्डमा ठूला बाढीपहिरोले धेरै क्षति पुर्‍याएकाले व्यवसायीले प्रगति देखिनेगरी काम गर्न सकेनन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)