काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि फिप्टीले पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार फण्डको न्याभ मङ्सिर महीनाको तुलनामा पुस महीनामा बढेको छ । मङ्सिर मसान्तसम्म फण्डको न्याभ रू. १० दशमलव ६८ रहेकोमा पुस मसान्तमा बढेर रू. ११ दशमलव ६४ पुगेको छ ।
न्याभसँगै फण्डको नाफामा पनि सुधार आएको छ । मङ्सिर मसान्तसम्म रू. ६ करोड ९९ लाख नोक्सानीमा गएको फण्ड पुस मसान्तमा रू. ४ करोड ९६ लाख धनात्मक भएको छ ।
पुस महीनामा शेयर बजार बढेसँगै म्युचुअल फण्डको न्याभलगायत नाफामा सुधार आएको छ । म्युचुअल फण्डहरूले आफ्नो अधिकांश फण्ड शेयर बजारमा लगानी गरेका हुन्छन् । सोही कारण शेयर बजारको घटबढसँगै फण्डहरूको नाफा÷नोक्सानलगायत न्याभमा असर परेको हुन्छ ।
यस फण्डले पुस मसान्तसम्म कुल रू. ६ करोड २५ लाख आम्दानी गरेको छ । यो आम्दानी मङ्सिर मसान्तसम्म रू. ५ करोड ९२ लाख थियो । पुस मसान्तसम्म फण्डले सूचीकृत शेयरमा रू. ९० करोड ४१ लाख लगानी गरेको छ । यस्तो लगानी मङ्सिर मसान्तसम्म रू. ८६ करोड ४४ लाख थियो ।