काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले आजदेखि सनराइज फोकस्ड इक्विटी फण्डको इकाई विक्री खुला गर्ने भएको छ । क्यापिटलले यो फण्ड सञ्चालनका लागि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई विक्री गर्न लागेको हो ।
कूल इकाईमध्ये १ करोड ८० लाख इकाई कोष प्रवर्द्धक सनराइज बैंक लिमिटेडलाई सुरक्षित राखिएको छ । योबाहेक बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक निष्कासनमार्फत विक्रीमा ल्याउन लागिएको हो ।
यो इकाई छिटोमा माघ १३ गतेसम्म विक्रीमा रहनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि माघ २४ गतेसम्म विक्री अवधि तय गरिएको छ । इकाई खरीदकर्ताहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको कुल आकार १ अर्ब २० करोड रुपैयाँ छ । यस योजनाको विक्री हुनुपर्ने न्यूनतम इकाई ६ करोड रहेको छ । न्यूनतम विक्री हुनुपर्ने इकाई विक्री नभएमा उक्त योजना खारेज गरी १५ दिनेभित्र निवेदनको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने योजना व्यवस्थापकको भनाई छ ।
यस योजनाको इकाई विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड छ । खरीदकर्ताहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
यस योजनाको इकाई निष्कासनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटी ३ (एएमसी ३) रेटिङ्ग प्रदान गरेको छ भने कोष प्रवर्द्धकलाई केयर एनपी ए माइनस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यी रेटिङ्गले कम कर्जा जोखिम रहेको र वित्तीय दायित्व वहन गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।