ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

निजीकरणपछि एयर इन्डियाको कायापलट, टाट पल्टिएको कम्पनीले किन्दै छ अर्बौं डलरमा सयौं विमान 

२०७९ माघ, १०  
समाचार यातायात अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

काठमाडौं । भारतको बहुराष्ट्रिय व्यापारिक घराना टाटा समूहले घाटामा चुर्लुम्म डुबेको सरकारी विमान सेवा प्रदायक कम्पनी एयर इन्डियाको स्वामित्व लिएपछि अहिले कायाकल्प फेरिएको छ ।

सरकारी स्वामित्वमा हुँदा ऋणको भारी बोकेर टाट पल्टिएको कम्पनीले ४०० न्यारोबडी र १०० वाइडबडी विमान किन्ने हल्ला बजारमा अहिले निकै चुलिएको छ । केही सञ्चार माध्यमहरूका अनुसार कम्पनीले यही महीनाको अन्त्यतिर विमानका लागि विमान निर्माता कम्पनीहरूलाई अर्डर दिने तयारीमा छ । विमान निर्माता कम्पनीहरूले भारी छूट दिँदा पनि ती विमानको लागि एयर इन्डियाले १० औं अर्ब डलर मूल्य खर्च गर्नुपर्नेछ । 

सरकारले विगत दुई दशकभन्दा बढी समयमा तीन पटक एयर इन्डिया बेच्ने प्रयास गरेको थियो । तर कतैबाट उद्धार हुन सकेन । कम्पनीको संस्थापक कम्पनी टाटा ग्रुपले नै अन्ततः कम्पनीको उद्धार गरिदियो ।

सन् १९५३ मा एयर इन्डिया राष्ट्रियकरण भएपछि चार दशकसम्म यसले भारतीय हवाई सेवा क्षेत्रमा एकछत्र राज गरेको थियो ।  सन् १९९० को दशकको मध्यदेखि उड्डयन क्षेत्रमा निजी कम्पनीहरूको प्रवेश शुरू भएपछि प्रतिस्पर्धा चर्किन थाल्यो । प्रतिस्पर्धा गर्न नसकेर कम्पनीले बिस्तारै बजार हिस्सा गुमाउन थाल्यो ।

सन् २००० को मध्यदेखि भने वित्तीय अप्ठ्यारा चुलियो । २००८ को विश्वव्यापी वित्तीय संकटले कम्पनीलाई धराशयी बनाइदियो । २००० तिरै अटल बिहारी बाजपेयी नेतृत्वको सरकारको निजीकरण र लगानी फिर्ता गर्ने बृहत प्रयासअन्तर्गत एयर इन्डियाको ४० प्रतिशत हिस्सा बेच्न खोजिएको थियो ।

टाटा ग्रुपसहित सिंगापुर एयरलाइन्सले पनि सो स्वामित्व किन्न रुची देखाएको थियो । तर श्रम संगठनहरूबाट भएको निजीकरणको विरोध पछि सिंगापुर एयरलाइन्सले हात झिक्यो । लगानी फिर्ता ल्याउने सरकारी योजना बीचमै तुहियो । त्यसयता पनि पटक पटक कम्पनीको निजीकरणको प्रयास भए । तर हरेक पटक प्रयास असफल भयो । कुनै बेला त कम्पनी किन्न इच्छुकका लागि भनेर खुलाएको बोलपत्रमा एउटै पनि बोलकबोल परेन । 

सन् २०१९ को मार्चसम्ममा कम्पनीको कूल कर्जा ६ खर्ब ७४ अर्ब रुपयामा उक्लिसकेको थियो । सन् २०२१ मा टाटा ग्रुप १ खर्ब ८० अर्ब रुपयामा कम्पनी किन्यो । टाटाले १ खर्ब ५३ अर्ब ऋण भुक्तानी गरिदिने अनि २७ अर्ब भने नगद नै दियो । टाटाको स्वामित्वमा आएयता कम्पनीमा व्यापक पुनःसंरचना भएको छ ।

महामारीको प्रभावबाट अर्थतन्त्र उब्रिदै गर्दा घरेलु बजारमा मात्रै होइन विश्व बजारमा पनि हवाई यात्राको माग सुध्रिएको छ । टाटाले एयर इन्डियालाई विश्वस्तरीय विमान सेवा प्रदायक बनाउने वाचा गर्दै कम्पनीमा हात हालेको थियो । 

टाटाले एयर इन्डियामा सिंगापुर एयरलाइन्ससँगको ज्वाइन्ट भेञ्चरमा खोलेको अर्को विमान सेवा प्रदायक कम्पनी विस्तारा मर्ज गर्ने घोषणा गरेको केही महीनामै सयौं थान विमान अर्डर गर्न लागेको छ । नयाँ अर्डरले टाटाको उड्ययन व्यवसायमा २१८ उडान थपिनेछ । यसले एयर इन्डियालाई देशको सबैभन्दा ठूलो अन्तरराष्ट्रिय हवाई सेवा प्रदायक बनाउनेछ भने घरेलु हवाई यात्रा बजारमा पनि इन्डिगोपछि दोस्रो ठूलो कम्पनी बनाउनेछ । 

अन्तरराष्ट्रिय र घरेलु हवाई सेवामा एयर इन्डियाले ठूलो हिस्सा आफ्नो पोल्टामा पार्न खोजेको छ । ५०० विमानको डेलिभरी कम्पनीले आगामी दशकभित्र मात्रै पूरा पाउनेछ । यी विमानहरूलाई कम्पनीले अहिलेका थोत्रा विमानलाई विस्थापित गर्न र तीव्र गतिमा विस्तार भइरहेको अन्तरराष्ट्रिय हवाई यात्रा बजारमा नयाँ उडानका लागि प्रयोग गर्नेछ । 

तर विश्व बजारमै आफ्नो उपस्थिति बलियो बनाउने कम्पनीको योजनामा कयौं अवरोधहरू रहेको विज्ञहरू बताउँछन् । कम्पनीलाई वृद्धि हासिलमा ठूलै कसरत गर्नु पर्ने उनीहरूको राय छ । भारतको कमजोर पूर्वाधार, पाइलटको चरम अभाव र खाडी एवम् अन्यत्रका स्थापित विमान सेवा कम्पनीहरूबाट चर्को प्रतिस्पर्धाका कारण कम्पनीको सो सपना साकार हुने बाटोमा कयौं तगारोको सामना गर्नु पर्ने देखिन्छ ।  एजेन्सीहरूको सहयोगमा 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro