काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लागि बोनसदर सार्वजनिक गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफामा सरिक हुने गरी प्रतिहजार अधिकतम रू. ७५ सम्म बोनसदर निर्धारण गरेको हो । कम्पनीले निर्धारण गरेको अधिकतम बोनसदर सावधिक तथा आजीवन बीमालेखमा लागू हुनेछ । यस बीमालेखअन्तर्गत २५ वर्ष वा सोभन्दा बढी अवधिमा प्रतिहजार रू. ७५ बीमालेख निर्धारण गरिएको हो ।
यसै बीमालेखअन्तर्गतको १४ वर्ष, १५ देखि १९ वर्ष र २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार रू. ६१ बोनसदर निर्धारण गरिएको छ । अधिकतम बोनसदर निर्धारण गरिएको २५ वा सोभन्दा माथि अवधिको सावधिक तथा आजीवन बीमालेख ७११ ओटा विक्री भएको कम्पनीको भनाइ छ । यो बीमालेख १५ देखि १९ वर्ष अवधिको सबैभन्दा बढी ४३ हजार ४३३ ओटा विक्री भएको हो ।
हाल कम्पनीले पाँच प्रकारका बीमालेख विक्री गरिरहेको छ । सावधिक तथा आजीवन बीमालेखसँगै कम्पनीले सावधिक जीवन बीमालेख, बालबालिकाको सावधिक जीवन बीमालेख, नवरत्न, जीवन संजीवनी, दम्पती सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ बीमालेख र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख विक्री गरिरहेको छ ।
कम्पनीले सावधिक बीमालेखमा बीमा अवधिको आधारमा न्यूनतम रू. ४५ देखि अधिकतम रू. ६० सम्मको बोनसदर कायम गरेको छ । यो बीमालेखअन्तर्गत १५ देखि १९ वर्ष अवधिको सबैभन्दा बढी १ लाख ३ हजार ८०५ बीमालेख विक्री भएको कम्पनीले जानकारी दिएको छ । सर्वाधिक विक्री भएको बीमालेखमा प्रतिहजार रू. ५५ बोनसदर कायम गरिएको छ ।
बालबालिकाको सावधिक जीवन बीमालेखमा कम्पनीले बीमा अवधिको आधारमा न्यूनतम रू. ४४ देखि अधिकतम रू. ६० बोनसदर निर्धारण गरेको छ । यो बीमालेख १५ देखि १९ वर्ष अवधिको सर्वाधिक १ लाख ५० हजार १४० ओटा विक्री भएको छ । कम्पनीले यस अवधिको बीमालेखमा प्रतिहजार रू. ५० बोनसदर प्रदान गर्ने बताएको छ ।
त्यस्तै नव रत्न, जीवन संजीवनी, दम्पती सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ बीमालेखमा कम्पनीले न्यूनतम रू. ४२ देखि अधिकतम रू. ५० सम्म बोनसदर निर्धारण गरिएको छ । अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा भने कम्पनीले न्यूनतम रू. ५० देखि अधिकतम रू. ७५ सम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीले निर्धारण गरेको बोनसदर सबैभन्दा बढी अवधिको बीमालेखमा सबैभन्दा बढी रहेको छ ।
सर्वाधिक बोनसदर रहेको बीमालेखको तुलनामा कम अवधिको बीमालेखमा बीमकहरूको आकर्षण देखिएको छ । एशियन लाईफको बीमालेख विक्रीको तथ्यांकलाई हेर्दा १५ देखि १९ वर्ष अवधिको बीमालेखमा बीमकहरूको आकर्षण बढी छ ।
कम्पनीले नयाँ बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालू बीमालेखमा समेत लागू हुने जानकारी दिएको छ ।