ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

सन्दर्भ मूल्यांकन हटाउन माग

२०७९ माघ, ११  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आयातकर्ता व्यवसायीको संगठन नेपाल समुद्रपार निकासी पैठारी संघले सन्दर्भ मूल्यांकनको परिपाटी खारेज गर्न माग गरेको छ । संघले अन्तरराष्ट्रिय भन्सार दिवसको सन्दर्भ पारेर आयोजना गरेको कार्यक्रममा सन्दर्भ मूल्यांकनको अभ्यास हटाउनुपर्ने, बिलमूल्यलाई मान्यता दिनुपर्नेलगायत माग अघि सारेको हो ।

कार्यक्रममा संघका अध्यक्ष विनोदकुमार सेठियाले भन्सार क्षेत्रमा विगतको तुलनामा निकै सुधार आए पनि गर्न बाँकी काम अझै धेरै रहेको बताए । भन्सार नेतृत्व छिटोछिटो परिवर्तन नगर्न आग्रह गरेका उनले नीतिगत स्थिरताको आवश्यकता पनि औंल्याएको संघको विज्ञप्तिमा उल्लेख छ ।

भन्सार कार्यालयहरूले एलसीबाट भुक्तानी हुने गरी आयात भएको, उत्पादकबाटै सिपमेन्ट भएको र भन्सारको मार्गदर्शनअनुसार नै आयात भएको वस्तुको हकमा पनि बिल मूल्यलाई मान्यता नदिने गरेको संघको गुनासो छ । सन्दर्भ मूल्यांकनले विदेशी मुद्राको अपचलनदेखि अधिक र न्यून बीजकीकरणजस्ता विकृतिलाई बढावा दिइरहेको संघको भनाइ छ । पुन: मूल्यांकनका लागि आवेदन गरेका हजारौं फाइल लामो समयदेखि अनिर्णीत रहेकोमा ध्यानाकर्षण गराउँदै सेठियाले वस्तु वर्गीकरणको हार्मोनिक सिस्टम कोड ८ अंकबाट बढाएर १० गर्नुपर्ने र बढी महशुल असुल्ने उद्देश्यले वर्गीकरण परिवर्तन गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।

उच्च भन्सार दरले अनधिकृत व्यापार बढाउने भन्दै सेठियाले भन्सार दरलाई वैज्ञानिक बनाउनुपर्नेमा जोड दिएका छन् । न्यून बीजकीकरण न्यूनीकरण र स्वदेशी उद्योग संरक्षणका लागि आयात हुने वस्तुको एकाइमा भन्सार लगाउनुपर्ने सुझाव दिँदै भन्सार महशुलका सन्दर्भमा पूर्वादेश दिने व्यवस्थामा रहेको समस्या हटाउन पनि संघले माग गरेको छ ।

भन्सार पुन: मूल्यांकन समितिमा निजीक्षेत्रको प्रतिनिधित्व गराउन र चोभार सुक्खा बन्दरगाहमा व्यवसायी आकर्षित हुने वातावरण बनाउन पनि संघले माग गरेको छ । त्यसैगरी भन्सार कार्यालयमा विद्युतीय माध्यमबाट भुक्तानी गर्न पाउने समयसीमा व्यावहारिक बनाउन, सबै प्रमुख भन्सार कार्यालयमा अन्तरराष्ट्रि«य मान्यताप्राप्त प्रयोगशाला स्थापना गर्न र भन्सारको बेरुजु भन्दै वर्षौंपछि व्यवसायीलाई पत्र पठाउने चलनको अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा विश्व भन्सार संगठनका सल्लाहकार श्याम दाहालले भन्सार क्षेत्रको अवस्था र गर्नुपर्ने सुधारका विषयमा प्रस्तुति दिएको संघको विज्ञप्तिमा उल्लेख छ ।

अन्तरक्रियामा उठेका प्रश्नको जवाफ अर्थसचिव तोयम राया, राजस्व सचिव रामप्रसाद घिमिरे र भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले दिएका थिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवाल र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पनि भन्सार क्षेत्रमा गर्नुपर्ने सुधारबारे धारणा राखेको संघका महासचिव अनिलकुमार अग्रवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro