कोलम्बो । साउदी अरेबियाले सन् २०२३ सम्ममा २ लाख श्रीलङ्काली युवाहरूलाई रोजगारी दिने योजना बनाएको छ ।
श्रीलङ्काका श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले मंगलवार साउदी अरेबियाले सन् २०२३ मा २ लाख श्रीलङ्काली कामदार लैजान इच्छुक रहेको बताएका हुन् । उनले सन् २०२२ मा साउदी अरेबियाले श्रीलङ्काका लागि ५४ हजार रोजगारीको प्रस्ताव गरेको र सन् २०२२ मा ३ लाखभन्दा बढी श्रीलङ्कालीहरू वैदेशिक रोजगारीका लागि गएको बताए ।
उनका अनुसार ती मध्ये अधिकांश मध्यपूर्वमा गएका छन् । श्रीलङ्काका लागि वैदेशिक राजस्वको मुख्य स्रोत कामदारको रेमिट्यान्स हो। गत वर्ष आप्रवासी कामदारहरूबाट देशलाई ३ अर्ब ८० करोड अमेरिकी डलर विप्रेषण प्राप्त भएको केन्द्रीय बैंकले बताएको छ ।
जसमध्ये श्रीलङ्काको वैदेशिक रोजगार विभागले ८२ लाख अमेरिकी डलर राज्यकोषमा प्रदान गरिसकेको छ । सन् २०२२ मा विभागले आर्जन गरेको उक्त रकम राज्यकोषमा दाखिला गरिएको बताइएको छ । गत शुक्रवार मात्रै मुलुकमा अभूतपूर्व आर्थिक सङ्कटपछि त्यहाँको रक्षा मन्त्रालयले आफ्नो वित्तीय स्थितिमा आमूल परिवर्तन ल्याउन आवश्यक रहेको भन्दै आगामी वर्ष २ लाख सैनिकबाट ६५ हजार सैनिकलाई अवकाश दिने घोषणा गरेको छ ।
हालैका दिनमा राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सम्भावित कर्जा जमानत पारित गर्न कर वृद्धि गर्नुका साथै खर्चमा व्यापक कटौती गरिरहेका छन् ।
कोरोना महामारी शुरुभएयता त्यहाँका नागरिकले महीनौंदेखि खाद्यान्न र इन्धनको अभाव झेलिरहेका छन्। लामो समयसम्म लोडसेडिङ्, पेट्रोल अभाव, औषधिलगायतका अन्य आधारभूत सामानको अभाव र अस्थिर मुद्रास्फीतिका कारण गत वर्ष त्यहाँको अर्थतन्त्र अनुमानित ८ दशमलव ७ प्रतिशतले खुम्चिएको थियो । एजेन्सी