रेसुङ्गा । सन्तानका लागि बुबाआमाले नगर्ने के हुन्छ र ? प्रायः आफ्ना रहरलाई थाती राखेर सन्तानका लागि जीवन दिन तयार हुन्छन् सबैका बुबाआमा ।
त्यसैको एउटा ज्वलन्त उदाहरण गुल्मीमा देखिएको छ । जुम्लाको सिञ्जा गाउँपालिका-२ का लक्ष्मीकान्त आचार्य ६३ वर्ष पुगे । उनले सन्तानका लागि बोक्दै आएको भारी अझै बिसाएका छैनन् ।
विगत ४३ वर्षदेखि भारी बोक्दै आएका उनी १० वर्षदेखि गुल्मीमा बसेर काम गरिरहेका छन् । त्योभन्दा अगाडि आचार्य नेपालका १५ जिल्लामा कामको खोजीमा पुगिसकेका थिए । उनले बोकेको राडीपाखीमा बाध्यतासँगै छोराछोरीको रहर पनि समेटिएकोे छ । त्यही रहर पूरा गर्न आचार्यले कहिल्यै फुर्सद पनि पाएनन् ।
आफ्ना छोराछोरीको रहरलाई लक्ष्यसम्म पुर्याउन पसिनै बगाएर सपना बुन्नेहरू बिरलै हुन्छन् । आचार्यको पनि एउटा सपना छोरा हेमन्तले इञ्जिनीयरिङ अध्ययन गरेर पूरा गरेका छन् । अध्ययन सकेपछि उनले काठमाडौंमा काम गर्न पनि थालेका छन् ।
राडीपाखी विक्री गरेकै आम्दानीले छोरालाई इञ्जिनीयर बनाएका आचार्य अहिले खुशीले गद्गद् छन् । ‘छोराको रहरका लागि आफ्ना सपनालाई तिलाञ्जली दिएँ,’ उनी भन्छन्, ‘राडीपाखी बेचेर छोरालाई इन्जिनीयर बनाएँ, मेरा पनि सबै सपना पूरा भए ।’ आचार्य मिहेनत र परिश्रम गरे कुनै सपना अधुरो नहुने बताउँछन् ।
गुल्मीको रेसुङ्गा नगरपालिका–२ मा बस्दै आएका उनी राडीपाखी बेच्न गुल्मीका गाउँगाउँ पुग्छन् । प्रायः मङ्सिर, पुस, माघ र फागुनमा तम्घासमा बसे पनि अघिपछि भेडाको ऊनबाट बनेका राडीपाखीसँगै आफैंले जुम्लामा खेती गरेर उब्जाएको धान, गेडागुडी, फलफूल उत्पादनका लागि जुम्लामै बसेर खेती किसानी गर्दै आएका छन् ।
आफैंले बनाएका सामग्रीहरू बेच्दा वार्षिक रू ५ लाखसम्मको कारोबार हुने र रू.४ लाखसम्म बचाउने गरेको आचार्य जानकारी दिन्छन् ।
गुल्मीका ग्रामीण भेगमा सामानहरू विक्री गर्न पुग्दा जुम्लाका प्रांगारिक सामान भनेर मन पराउने गरेको उनी बताउँछन् । जुम्लाबाट विसं २०५० मा नेपालगञ्जसम्म आउँदा पैदल आठ दिनसम्म हिँड्नुपरेको सुनाउने आचार्य अहिले गाडीमा तीन दिनमा गुल्मी आउन सकिने जानकारी दिन्छन् ।
‘आत्मनिर्भर बन्नका लागि मिहेनत र परिश्रम निरन्तर गरें,’ उनी भन्नुहुन्छ, ‘अहिले छोरा पनि आफैंमा आत्मनिर्भर बन्दा खुसी लागेको छ ।’ उनका कान्छा छोरा धिरन्दाले पनि बुटवलमा राडीपाखीका सामान बिक्री गरेर मनग्ये आम्दानी गर्दै आएका छन् । -रासस