काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सबस्टेशन निर्माण गर्ने भएको छ ।
नियमितरूपमा उच्च भोल्टेजको बिजुली आपूर्ति गर्न तथा आकस्मिकरूपमा हुने विद्युत् विच्छेदजस्ता अवरोधसमेत न्यूनीकरण गर्न उक्त सबस्टेशन निर्माण गर्न लागिएको हो ।
प्राधिकरणले आगामी ३० वर्षसम्म काठमाडौं उपत्यकाभित्र बिजुलीको माग सहजपूर्वक सम्बोधन गर्ने तयारी गरिरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यसका लागि काठमाडौंमा ‘रिङ सर्किट’ निर्माण गर्ने बताएका छन् ।
यस्तै नदी किनारै किनार १३२ केभी क्षमताका प्रसारण लाइन बनाइने उनको भनाइ छ । उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकमा समेत भरपर्दो र गुणस्तरीय बिजुली प्रवाहका लागि नयाँ सबस्टेशन निर्माण गर्न लागिएको हो । प्रसारण पूर्वाधार तथा सबस्टेशनको अभावमा काठमाडौंमा बाध्यकारीरूपमा लोडसेडिङ हुन सक्ने अवस्था सृजना भएको प्राधिकरणको भनाइ छ ।
उपत्यकाभित्र कुल ६६ केभीदेखि २२० केभी क्षमताका प्रसारण लाइन तथा सबस्टेशन निर्माण गर्नुपर्ने भएकाले विद्यमान प्रसारण लाइन तथा सबस्टेशनको संरचनागत सुधार, स्तरोन्नति एवं विस्तार गर्ने तयारी पनि तीव्र गतिमा अगाडि बढाइएको छ ।
सोही क्रममा साविकको जितपुरफेदी गाविसको वडा नं ५ र गोलढुंगा गाविसको ३ मा २२०/१३२/६६/११ केभी क्षमताको सबस्टेशन निर्माण गर्न लागिएको छ । सो सबस्टेशन निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि प्राधिकरणले आज सूचना प्रकाशित गरेको छ । जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ अनुसार कुल ६१ परिवारको जग्गा अधिग्रहण गर्नुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ । -रासस