काठमाडौं । गत मंगलवार संघीय संसद् अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै सरकारविरुद्ध प्रदर्शन भएको छ । स्व.आचार्यको २५ बुँदे माग पूरा गर्न माग गर्दै काठमाडौंको माइतीघर र बानेश्वर क्षेत्रमा बुधवार विरोध प्रदर्शन भएको हो ।
मंगलवार आफूमाथि पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका इलामका ३७ वर्षीय आचार्यको बुधवार बिहान मृत्यु भएपछि उनका माग सम्बोधन हुनुपर्ने माग राख्दै युवाहरूले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
विभिन्न व्यवसाय गर्न खोज्दा राज्य व्यवस्था र नीति नियम बाधक बन्दा आफूले काम गर्न नसकेको र आफूले काम गरेको ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै सामाजिक सञ्जालमा मृतक आचार्यले मृत्युअघि लामो ‘सुसाइट नोट’ लेखेका थिए ।
प्रदर्शनमा उत्रिएकी एक आन्दोलनकारीले मतदाताहरूले नयाँ शक्तिको रूपमा सत्तामा पु¥याएकाहरूले यो अवस्थाको सिर्जना गर्नेहरूलाई कारबाही गरेर अघि बढ्न नसके देशले अझै ठूलो दुर्घटना भोग्नुपर्ने बताइन् । बैंकहरूले उद्योगीहरूलाई दिने ऋणमा सहुलियत दिनुको साटो उल्टै कमिसन खाने गरेकाले उद्योगी, व्यवसायीहरू झनै पीडामा परेको उनको भनाइ छ । गृहमन्त्री रवि लामिछानेले माफी मागेर मात्रै घटना नसकिने भन्दै यो अवस्थामा लैजान प्रेरित गर्ने सबैलाई कारबाही गर्नसके मात्र मृतकप्रति न्याय हुने उनले बताइन् ।
प्रदर्शनका क्रममा युवाहरूले सरकारविरुद्ध नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरूले ‘यो देश हो कि बधशाला ?’, ‘अर्काे जल्दो शरीर मेरो नहोस्’, ‘उद्यमशील नेपाल नारा मात्रै हो ?’, ‘प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दे’, ‘देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?’, ‘यो आत्महत्या होइन हत्या हो ?’ ‘ठूला व्यापारी कसको आश्रयमा ?’ ‘स्व. आचार्यका २५ बुँदे माग पूरा गर्’ लगायत नारा लेखिएका पम्प्लेट बोकेका थिए ।