काठमाडौं । दिनेश प्रजापति र रमेश अधिकारी सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता ‘सूर्य नेपाल एनपीजीए म्याच प्ले’को उपाधिका लागि भिड्ने भएका छन् ।
रोयल नेपाल गल्फ क्लबमा भएको सेमिफाइनलमा १३औं वरीयताका रमेश अधिकारी १०औं वरीयताका भुवनकुमार रोक्कालाई २/१ ले हराउँदै फाइनल पुगेका हुन् । त्यस्तै अर्को सेमीफाइनलमा सातौं वरीयताका दिनेश प्रजापति आठौं वरीयताका धनबहादुर थापालाई २/१ ले नै हराएर फाइनलमा पुगेका हुन् । दिनेश सूर्य नेपाल टुरमा करीअरकै पहिलो उपाधि जित्ने दाउमा रहेका छन् ।
दिनेश र रमेशले उपाधिका लागि बिहीवार ३६ होलको प्रतिस्पर्धा गर्नेछन् भने धन र भुवनले तेस्रो स्थानका लागि १८ होलको खेल खेल्नेछन् । बुधवार नै भएको क्वार्टरफाइनलमा नेपाल नम्बर एक खेलाडी शुक्रबहादुर राई, दोस्रो वरीयताका भुवन नगरकोटी, तेस्रो वरीयताका जयराम श्रेष्ठ र पाँचौं वरीयताका रवि खड्का पराजित भए ।
शुक्रलाई वरीयताको १०औं स्थानमा रहेका भुवनकुमार रोक्काले ३/१ ले हराए । अर्को क्वार्टरफाइनलमा धनबहादुर थापाले भुवनलाई ३/२ ले हराउँदै अन्तिम चारमा स्थान बनाएका थिए । यसैगरी दिनेश प्रजापतिले तेस्रो वरीयताका जयराम श्रेष्ठलाई ३/२ ले हराए । पूर्व नं एक खेलाडी रवि खड्काको चुनौती १३औं वरीयताका रमेश अधिकारीले समाप्त पारे ।
रमेशले पाँचौं वरीयताका रविलाई ३/२ ले हराए । गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगितामा भाग लिने भए तापनि चार खेलाडी देशबाहिर रहेकाले उत्कृष्ट २० सम्मका खेलाडीले मौका पाएका हुन् । सूर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशी रू. २ लाख ५० हजार छ ।