काठमाडौं । सानिमा इक्वीटी फण्डले पुस मसान्तसम्म रू. १६ करोड ६९ लाखभन्दा बढी नाफा कमाएको छ । सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित यो योजना मङ्सिर मसान्तसम्म रू. ५४ लाख ९२ हजार नोक्सानीमा रहेको थियो ।
धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित योजना बजार बढेसँगै नाफामा गएको हो । पुस महीनादेखि धितोपत्र दोस्रो बजारले गति लिएको हो । पुस मसान्तसम्म योजनाले धितोपत्र दलाल कमिसनसहित सूचीकृत तथा सूचीकृत नभएको शेयर र डिबेञ्चरमा गरेको लगानीको परल मूल्य रू. १ अर्ब ६ करोड ४१ लाखभन्दा बढी रहेको छ ।
पुस मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्य भने रू. १ अर्ब ३६ करोडभन्दा बढी छ । यस अवधिसम्म योजनाले बैंक मुद्दती निक्षेपमा रू. २७ करोड लगानी गरेको छ ।
पुस महीनामा योजनाले रू. १८ करोड २८ लाखभन्दा बढी आम्दानी गर्दा रू. १ करोड ५९ लाखभन्दा बढी मात्र खर्च गरेको छ । आम्दानीको तुलनामा योजनाको खर्च निकै कम देखिएको छ ।
सातवर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजना २०७४ साल पुस ११ गतेदेखि सञ्चालनमा रहेको छ । १३ करोड इकाई जारी गरेको योजनाको पुस मसान्तसम्म प्रतिइकाई खुद मूल्य पनि वृद्धि भएको छ ।
मङ्सिर मसान्तसम्म रू. १२ दशमलव १६ रहेको कम्पनीको प्रतिइकाई खुद मूल्य पुस मसान्तसम्म रू. १३ दशमलव ४९ पुगेको छ । योजनाको खुद सम्पत्ति पुस मसान्तसम्म रू. १ अर्ब ७५ करोडभन्दा बढी कायम भएको छ । यो रकम मङ्सिर मसान्तसम्म रू. १ अर्ब ५८ करोडभन्दा बढी थियो ।