ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

धार्मिक पर्यटक बढाउन भैरहवामा शक्तिपीठ स्थापना

२०७९ माघ, १२  
लुम्बिनी प्रदेश
Tvs Raider Image Not Found
सांकेतिक तस्वीर

भैरहवा । लुम्बिनी तथा यस आसपास आउने धार्मिक पर्यटकलाई लक्षित गरी भैरहवानजीकै शक्तिपीठ स्थापनाको काम अघि बढाइएको छ । नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजको पहलमा जगद्गुरुपीठ निर्माणका लागि श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ आज सम्पन्न भएको छ ।

ओमसतिया गाउँपालिका-४ वसन्तपुरमा रहेको नवदुर्गा मन्दिरलाई बालसन्त मोहनशरण देवाचार्यले चौथो शक्तिपीठका रूपमा स्थापना गर्ने उद्देश्यसहित महायज्ञको आयोजना गरेको महायज्ञ मूल आयोजक समितिका संयोजक विष्णु रायमाझीले बताए ।

सुनसरीको चतराधाममा विसं २०५९ मा महाकुम्भ मेला प्रारम्भ गरी धार्मिक, सांस्कृतिक र वेदका आधारमा विश्वमाझ नेपालमा कुम्भ मेला स्थापित गराउन सफल महाराजले यहाँ जगद्गुरु दक्षिणपीठको स्थापना गर्न लागेको उनको भनाइ छ ।

पूर्वमा चतराधाम बराहक्षेत्रमा प्रथम जगद्गुरुपीठ, दोस्रो शारदापीठ महाकाली, तेस्रो निलाद्रीपीठ मुक्तिनाथ क्षेत्र जोमसोम स्थापना भइसकेको र चौथो भैरहवापीठ स्थापना हुनेछ । यो पीठ जगद्गुरुको अन्तिम पीठ हुने रायमाझीले बताए ।

महायज्ञमा रेडियो नेपालका पूर्वनिर्देशक एवं धार्मिक कार्यक्रमका ख्यातिप्राप्त विद्वान् आचार्य पुुरुषोत्तम सापकोटा र कथा प्रवचन एवं भागवताचार्य कथा व्यास डा. यादवशरण गड्तौलाका मुखारविन्दबाट पाठ–पारायण भइरहेको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, लुम्बिनीलगायत नेपालका धार्मिकस्थल दर्शन गर्न आउने भारतीय भक्तजनलाई निःशुल्क आवास र खानाको सुविधासहित भैरहवापीठ सञ्चालनको लक्ष्य राखिएको छ ।

चार पीठको स्थापनासँगै जगद्गुरुका चतराधाम, जगद्गुरु आश्रम शंखमूल र शारदापीठमा जगद्गुरुकुलम् सञ्चालनमा छन् । ती पवित्र स्थलमा नेपाली धर्म, संस्कृति र परम्पराको ज्ञान दिनुका साथै नेपाली मन मस्तिष्कमा धार्मिक भावना, सांस्कृतिक चेतना, कर्तव्यबोध, नैतिकता, सौन्दर्यबोध, शीलस्वभाव र सदाचारको शिक्षा ज्ञान जगद्गुरुकुलमा प्रदान गरिन्छ ।

महायज्ञको पूर्ण आहूति कार्यक्रममा उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले धार्मिक कार्यक्रमले धार्मिक पर्यटनमा वृद्धि गर्नुका साथै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

‘नेपालको ऐतिहासिक र एकमात्र जगद्गुरुको पीठ निर्माणले यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।’ उनले यसले धर्म, संस्कृति र पराम्पराको रक्षा गर्ने काम सँगसँगै यहाँको पर्यटनमा पनि सहयोग पुग्ने हुनाले व्यक्तिगत र सरकारको तर्फबाट सहयोग गर्ने बताए ।

उपप्रधानमन्त्री लिङ्देनले नेपालमा गुरु पण्डित पनि हिन्दूधर्मको पक्षमा खुलेर बोल्ने डराएको अवस्थामा पनि आफू अडिग भएर हिन्दूधर्मको पक्षमा लागेको बताए ।

उनले यस्ता हिन्दूत्वसम्बन्धी कार्यक्रम तथा धार्मिक कार्यक्रमले आफूलाई आनन्द दिने बताए । सत्संगमा सहभागी हुन पाउँदा अन्यको तुलनामा आफूलाई बढी आनन्द हुने गरेको उनको भनाइ छ । कार्यक्रमका मुख्यवाचक बालसन्त मोहनशरण देवाचार्य महाराजले संसद्बाट नै हिन्दूधर्मको पक्षमा बोल्न आग्रह गरे । -रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)