काठमाडौं । पछिल्लो केही दिनको बजार ट्रेण्डलाई हेर्दा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेका छन् । छोटो समयमै २२ सयभन्दा माथि पुगेको बजार धेरै दिन टिक्न सकेन भने घट्न पनि सकेको छैन । अलिअलि बढेको बजारमा अधिकांश लगानीकर्ताले प्रोफिट पनि बुक गरे । त्यसपछि बजारमा सामान्य करेक्सन आयो ।
त्यसपछि लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिन्छन् । खरीदकर्ताले सस्तो मूल्यमा खरीद गर्न चाहेको छ भने विक्रेताले पनि माथिल्लो मूल्यमा बेच्न चाहेको देखिन्छ । सोही कारण कारोबार रकम घट्न थालेको छ ।
यद्यपि बैंकिङ प्रणालीमा तरलता सहज हुन थालेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत पैसा तान्न थालिसकेको छ । यसले गर्दा आगामी दिनमा ब्याजदर घट्दै जानेछ । सोही कारण पनि शेयर बजारको आगामी यात्रा सकारात्मक रहने जानकारहरू बताउँछन् ।
साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । यस दिन नेप्से परिसूचक शून्य दशमलव नेप्से परिसूचक शून्य दशमलव ४१ अंक घटेर २ हजार १८३ दशमलव २१ विन्दुमा कायम भएको हो । कारोबारमा आएका २५४ धितोपत्रको ७७ लाख ६४ हजार १५३ कित्ता ४७ हजार ९०९ पटकमा रू. २ अर्ब ८६ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका तीनओटा कम्पनीको धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, आदर्श लघुवित्त वित्तीय संस्था र बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर मूल्य रू. ४२० दशमलव २०, आदर्श लघुवित्तको रू. १ हजार १९७ दशमलव ९० र बाराही हाइड्रोपावरको रू. ४८६ दशमलव २० पुगेको छ ।
बिहीवार सबैभन्दा बढी समृद्धि फाइनान्सका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ७ दशमलव ६८ प्रतिशतले घटेको छ । कम्पनीको शेयर मूल्य रू. ३४५ मा झरेको छ । त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ४ दशमलव ५० प्रतिशत घटेर रू. २६९ दशमलव ३० कायम भएको छ ।
यस दिन समृद्धि फाइनान्सको सर्वाधिक शेयर खरीदविक्री भई रू. ९ करोड ७० लाख बराबरको भएको छ । त्यस्तै दोस्रोमा रिडी पावरको रू. ८ करोड ६१ लाख बराबरको खरीदविक्री भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक शून्य दशमलव ४३ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ५५ प्रतिशत, वित्त समूहको १ दशमलव ३६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ३३ प्रतिशत, लघुवित्त समूहको शून्य दशलमव ३२ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव ३५ प्रतिशत र अन्य समूहको परिसूचक शून्य दशमलव ८५ प्रतिशतका दरले घटेको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक १ दशमलव ४९ प्रतिशत वृद्धि भएको छ ।
त्यस्तै व्यापार समूहको परिसूचक शून्य दशमलव १६ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव २१ प्रतिशत, लगानी समूहको शून्य दशमलव शून्य ७ प्रतिशत, हाइड्रोपावर समूहको शून्य दशमलव ८२ प्रतिशत र होटल तथा पर्यटन समूहको शून्य दशमलव ७८ प्रतिशतका दरले वृद्धि भएको छ ।