काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल महासंघले २८ औंं संस्करणको क्यान इन्फोटेक माघ २३ गतेदेखि सञ्चालन गर्ने भएको छ । महासंघले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।
महासंघका अनुसार क्यान इन्फोटेक २०२३ माघ २३ गतेबाट २९ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुनेछ । महासंघले क्यान महासंघले आयोजना गर्ने देशकै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
पत्रकार सम्मेलनमा कम्प्युटर एशोसिएशन नेपाल महासंघका महासचिव चिरञ्जीवि अधिकारीले यो पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर पे वेल रहेको जानकारी दिए । उनले सर्वसाधारणका लागि १०० र विद्यार्थीहरूका लागि ५० रुपैयाँ शुल्क निर्धारण गरिएको समेत बताए ।
उनले प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तरराष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धित कम्पनीहरूको सहभागिता रहने बताए । यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्र्धन गर्ने उनको भनाइ छ । उनले क्यान इन्फोटेककै दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेण्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुने बताए ।
महासंघले इन्फोटेकका लागि हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको र यस संस्करणको इन्फोटेक मेलालाई करिव साढे ३ लाख मानिसले अवलोकन गर्ने अपेक्षा राखेको छ । महासंघले प्रदर्शनीले डिजिटल नेपालको अभियानलाई समेत सहयोग पुग्ने विश्वास राखेको छ ।
काठमाडौंमा प्रदर्शनी सकिएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुने महासचिव अधिकारीले बताए । उनका अनुसार मधेश प्रदेशमा फागुन ५–९,सुदूरपश्चिममा फागुन १३–१७, गण्डकी प्रदेशमा फागुन २६–३०, बागमती प्रदेशमा चैत २–६ क्यान इन्फोटेक मेला हुने भएको छ ।
प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै क्यान इन्फोटेक आयोजनाको मिति घोषणा हुने उनले जानकारी दिए । महासंघले सन् १९९५ बाट क्यान इन्फोटेकको शुरुवात गरेको थियो ।