ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेपाली फुटवेयर उद्योगमा थपियो 'नेको' ब्राण्डको प्रिमियम शुज, काठमाडौं मलमा खुल्यो शोरुम

२०७९ माघ, १२  
समाचार उपभोक्ता
Tvs Raider Image Not Found
काठमाडौं मलमा शोरुम उद्‍घाटन गर्दै बायाँबाट प्रदीप कोइराला, शाक्षी बस्नेत, जयदेव कलौनी र निरज जैसवाल ।
author avatar अभियान संवाददाता

काठमाडौं । २५ देखि ३५ वर्ष उमेर समूहका ४ जना युवाले ‘नेको’ ब्राण्डमा फुटवेयर उद्योग शुरू गरेका छन् ।

कञ्चनपुरका जयदेव कलौनी, दाङकी शाक्षी बस्नेत, पोखराका प्रदीप कोइराला र वीरगञ्जका निरज जैसवालको साझेदारीमा नेको क्रिएशन प्रालि मार्फत नेको ब्राण्डमा जुत्ता उद्योग शुरू गरेका हुन् ।
वीरगञ्जमा उद्योग स्थापना गरेका उनीहरूले काठमाडौंमा तीन ओटा आउटलेटबाट जुत्ता विक्री गर्ने लक्ष्य लिएका छन् ।

नेकोले बिहीवार काठमाडौं मलको तेस्रो तल्लामा पहिलो आउटलेट उद्घाटन गरेको छ । आगामी चैत्र भित्र देशभरका ३३ ओटा शोरूमबाट नेको ब्राण्डका जुत्ताहरू विक्री वितरण गर्ने नेको क्रिएशनका अध्यक्ष जयदेव कलौनीले बताए ।

कोरोनाले सबै व्यापार व्यावसाय ठप्प हुँदा उनले नेपालमा प्रिमियम शुजको बजार अध्ययन गरेका थिए । जसमा ३ हजारसम्मको जुत्ता सहजै पाइने र त्यो भन्दा महँगो जुत्ता खोज्दा सिधै १२/१५ हजारको जुत्ता मात्रै भेटाए । 
३ हजारको जुत्ता मन नपरे ४/५ हजारको जुत्ता किन्न सक्छन् भन्ने भएपछि कलौनीले विदेशबाट आयात गर्दा १० हजारभन्दा बढी मूल्य पर्ने जुत्ता नेपालमै उत्पादन गरेर ४/५ हजारमै बेच्ने निधो गरेका थिए । त्यसपछि उनले बंगलादेशको २५ वर्ष पुरानो फुटवेयर कम्पनीसँग लगानीको प्रस्ताव गरेर उद्योग शुरू गरेका हुन् ।

५ करोड रुपैयाँ बंगलादेशको विदेशी लगानीसहित १० करोड रुपैयाँ लगानीमा शुरू भएको उद्योगले वार्षिक १ लाख ८० हजार जोर जुत्ता उत्पादन गर्न सक्छ । उद्योगमा १०० जनालाई प्रतक्ष रोजगारी दिइएको छ । जसमा अहिले २० जना बंगलादेशी नागरिकले पनि काम गरिरहेका छन् ।

कम्पनीका ४ जना संस्थापक मध्ये प्रदीप कोइराला चार्टड एकाउन्टेन्ट हुन् भने निरज जैसवाल बीबीए अध्ययनरत विद्यार्थी हुन् । शाक्षीले होटल म्यानेजमेन्टको अध्ययन गरेकी छिन् भने कलौनीले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।

३ हजारको जुत्ता मन परेन, १० हजारको किन्न सकिएन भने...
नेपाली कम्पनीले उत्पादन गरिरहेका जुत्ताहरू मध्ये सस्तो खोज्नेलाई १ हजार देखि १५ सय रुपैयाँ हाराहारीका जुत्ता बजारमा छन् । मध्यम वर्गकोले खोज्ने जुत्ता २ देखि ३ हजार रुपैयाँ हाराहारीका हुन् । 

तर, अपर मिडिल क्लासले भने नत ३ हजारको जुत्तामा चित्त बुझाउँछ, नत १२/१५ हजार रुपैयाँ हालेर विदेशी जुत्ता लगाउन सक्छ । हो यहि ग्यापलाई पूरा गर्न नेको शुज बजारमा आएको कलौनी बताउँछन् ।

‘हाम्रो कन्सेप्ट नै अहिलेका नेपाली जुत्ताभन्दा माथिल्लो रेञ्ज र विदेशी जुत्ता भन्दा तल्लो रेञ्जका जुत्ता उपभोक्तालाई दिने हो ।’ कलौनीले भने, ‘अर्थात मध्यम/अपर मध्यम वर्गका मान्छेलाई अफोर्डेबल मूल्यमा प्रिमियम जुत्ता बेच्ने मुख्य उद्देश्य हो ।’

कम्पनीले अहिले फाइन लेदरबाट बनेका फर्मल, सेमी फर्मल लेदर शुज र क्याजुअल स्पोर्स्टस् शुज मात्रै उत्पादन गरिरहेको छ । जसको मूल्य लेदर शुजतर्फ ४५ सय देखि ८ हजारसम्म र स्पोर्टस् शुज तर्फ २ हजार देखि ४५ सय सम्म रहेको छ । आउटलेट उद्घाटन गरेको उपलक्ष्यमा अहिले १० दिनसम्म जुत्ता किन्दा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

अनुभवी कम्पनीसँग साझेदारी, नयाँ प्रविधिको प्रयोग
बंगलादेशमा २५ वर्षदेखि जुत्ता उत्पादन गरिरहेको एक अनुभवी कम्पनीसँगको साझेदारीमा नेपालमा यो उद्योग स्थापना गरिएको हो । 

कम्पनीले पछिल्लो प्रविधिलाई अनुसरण गरेर जुत्ता उत्पादन गर्छ । नेकोले नयाँ प्रविधिमा आधारित २ करोड रुपैयाँ भन्दा बढी मूल्यका मेशिनरी मात्रै खरीद गरेको कलौनीले बताए ।

भविष्यमा विदेशमा जुत्ता निर्यात गर्न सहज होस भनेर वीरगञ्जमा उद्योग स्थापना गरेको उनको भनाइ छ ।

नेपालमा औद्योगिक वातावरण सहज हुँदै नगएमा भोलिका दिनमा विदेश निर्यात गर्ने वा बंगलादेशमै उद्योग स्थापना गरेर पनि अन्य मुलुकमा जुत्ता निर्यात गर्ने कम्पनीको योजना छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)