ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

धितोपत्र दोस्रो बजार सकारात्मक गतिमा, साताको कारोबारमा परिसूचकसँगै कारोबार रकमसमेत वृद्धि

२०७९ माघ, १४  
लगानी नेप्से विश्लेषण
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । गत साताको कारोबारमा धितोपत्र दोस्रो बजारको गति सकारात्मकनै देखिएको छ । बजारका महत्वपूर्ण सूचकहरूलाई आधार मान्दा बजार सकारात्मक देखिएको हो ।

अघिल्लो साताको तुलनामा गत साता नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २ हजार १७८ दशमलव ८१ विन्दुमा रहेको नेप्से परिसूचक ४ दशमलव ४० अंक बढेर २ हजार १८३ दशमलव २१ विन्दुमा पुगेर बन्द भएको हो ।

नेप्से परिसूचक सामान्य अंकले बढे पनि ठुला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने १ दशमलव ९१ अंक घटेको छ । अघिल्लो साता ४१५ दशमलव शून्य ५ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स गत साताको अन्तिम कारोबार दिनमा भने ४१३ दशमलव १४ विन्दुमा झरेको हो ।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पूँजी प्रयाप्त रहेको अवस्थामा बजार सकारात्मक गतिमा अघि बढुनुको विकल्प नभएको जानकार लगानीकर्ताहरु बताउँछन् । यतिबेला लगानीकर्ता बजार सुधारका लागि केहि नयाँ कुराको प्रतिक्षामा रहेको देखिन्छ एक ब्रोकरले भने लगानीका लागि पूँजी भएपनि लगानी गर्ने या नगर्ने दोधारमा लगानीकर्ता रहेका छन् । नयाँ सरकार गठनसँगै धितोपत्र बजारका लगानीकर्ताले बजार सुधारको नयाँ कार्यक्रमको अपेक्षा गरेको ब्रोकरहरूको बुझाइ छ ।

एक वर्षभन्दा बढी समय घटेको बजार उकालो गतिमा भएपनि यसको निरन्तता प्रति लगानीकर्ता विश्वस्त हुन नसकेको अनुमान ब्रोकरहरूको छ । धितोपत्र बजारको गति लगानीकर्ताको हौसलासँग सम्बन्धित रहेकाले केहि नयाँ नीति तथा कार्यक्रम आए बजारप्रति लगानीकर्ताको उत्साह बढ्ने आशा ब्रोकरहरूले गरेका छन् ।

अघिल्लो साताको तुलनामा गत साता कारोबार रकम र कित्ता बढेको छ । अघिल्लो साता तीन दिन र गत साता चार दिन बजार सञ्चालन भएको थियो । अघिल्लो साता तीन कारोबार दिनमा रू. ११ अर्ब ६९ लाखभन्दा बढीको ३ करोड ३४ लाख ३५ हजारभन्दा बढी कित्ता धितोपत्र खरीदविक्री भएकोमा गत साता रू. १३ अर्ब १९ करोडभन्दा बढीको ३ करोड ६३ लाख ५६ हजार भन्दा बढी कित्ता धितोपत्र खरीदविक्री भएको छ । अघिल्लो साताको तुलनामा गत साता रू. १ अर्ब ४९ करोडभन्दा बढीको २९ लाख २१ हजार ७१३ कित्ता बढी धितोपत्र खरीदविक्री भएको हो ।
औषतमा भने गत साता कारोबार रकम र कित्तामा कमि आएको छ । अघिल्लो साता औषतमा रू. ३ अर्ब ८९ करोडभन्दा बढीको १ करोड ११ लाखभन्दा बढी कित्ता धितोपत्र खरीदविक्री भएकोमा गत साता औषतमा रू. ३ अर्ब २९ करोडभन्दा बढीको ९० लाख ८९ हजारभन्दा बढीको धितोपत्र खरीदविक्री भएको हो ।

बजार बढेसँगै कुल बजारपूँजीकरण पनि अघिल्लो साताभन्दा रू. ४ अर्ब ८५ करोड १३ लाखले बृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन रू. ३१ खर्ब ४५ अर्ब ६३ करोड ५२ लाख रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन रू. ३१ ख्र्ब ५० अर्ब ४८ करोड ६५ लाख कायम भएको छ ।
गत साता निर्जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक कमाए 
गत साताको कारोबारमा निर्जीवन बीमा समूहका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । समूहगत परिसूचकमा देखिएको बृद्धिका आधारमा निर्जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक कमाएको देखिएको हो । अघिल्लो साताको तुलनामा गत साता निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक २ दशमलव ९८ प्रतिशत बढेको छ ।

जीवन बीमा समूहको परिसूचक सर्वाधिक दोस्रोमा २ दशमलव ९१ प्रतिशत बढेको छ । पूँजीबृद्धि अभियानका क्रममा रहेको बीमा समूह अन्तर्गतका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण गत साता बढी देखिएको हो ।

गत साता १३ समूहगत परिसूचकहरूमध्ये ६ समूहको मात्र बढेको छ । गत साता होटल तथा पर्यटन समूहको २ दशमलव २८ प्रतिशत, वित्तको २ दशमलव शून्य ५ प्रतिशत, व्यापारिकको १ दशमलव शून्य ८ प्रतिशत र जलविद्युत समूहको शून्य दशमलव ७९ प्रतिशत परिसूचक बढेको छ ।गत साता विकास बैंक समूहको परिसूचक सर्वाधिक २ दशमलव शून्य ४ प्रतिशत घटेको छ । 

त्यस्तै लगानीको २ दशमलव शन्य १ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ प्रतिशत, अन्य समूहको शून्य दशमलव ८५ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव ६७ प्रतिशतले घटेको छ । यस्तै लघुवित्तको शून्य दशमलव १२ प्रतिशत र बैंकिङ समूहको शून्य दशमलव शून्य ४ प्रतिशत परिसूचक घटेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)