कञ्चनपुर (दोधारा) । एक दशकअघिसम्म महाकाली नदीमा सजिलै पाइने यहाँको प्रख्यात ‘महाशेर माछा’ लोप हुन थालेको छ ।
माछाका विभिन्न प्रजातिमध्येको एक प्रजाति महाशेर माछा हिजोआज महाकाली नदीमा मुस्किलले पाइन्छ । देख्नमा आकर्षक, तौल धेरै हुने र खानमा पनि स्वादिष्ट हुने भएकाले माछाको राजाका रूपमा समेत महाशेरलाई चिन्ने गरिन्छ । पछिल्लो समय महाकाली नदीमा उक्त माछा मात्रै नभई अन्य माछासमेत पाइन छाडेको बताइन्छ ।
आठ वर्षदेखि माछा मार्ने ठेक्का लिँदै आएका यहाँका माछा व्यवसायी जगत सिंहले पछिल्लो समय महाकाली नदीमा फाट्टफुट रूपमा मात्रै महाशेर माछा पाइने बताए । ‘अहिले महाशेर मात्रै होइन अन्य माछा पनि धेरै कम पाइन थालेका छन्,’ उनले भने, ‘नदीमा ताल नहुनु र अनियन्त्रित रूपमा नदी उत्खननले पनि माछा लोप हुन थालेको छ ।’
महाकाली किनारका अधिकांश मानिसले माछा मारेर जीवकोपार्जन गर्ने गरेका छन् । नदीमा माछा घट्न थालेपछि व्यवसायीसमेत चिन्तित बनेका छन् । एक दशकअघिसम्म महाकालीमा क्विन्टलभन्दा बढी तौल भएको समेत महाशेर भेटिन्थ्यो भने अहिले १०÷१५ किलोग्रामका महाशेर पनि भेटिन गाह्रो हुने गरेको माछा व्यवसायी बताउँछन् ।
‘पहिला महाकाली नदीमा एउटै महाशेर क्विन्टलसम्मको भेटिन्थ्यो,’ स्थानीय कालु सुनाहाले भने, ‘केही वर्षयता कहिलेकाहीँ महाशेर माछा पाइन्छ, त्यो पनि १०/१५ किलोको मात्रै ।’ महाकाली नदीमा अनियन्त्रित ढङ्लेंग माछा मार्ने क्रम पनि बढ्दै गएकाले महाशेर लोप हुन थालेको बताइन्छ ।
तत्कालीन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले महाकालीमा महाशेर लोपोन्मुख अवस्थामा रहेको बताए । ‘दुर्लभ प्रजातिको महाशेर माछा विश्वमै लोप हुने अवस्थामा छ,’ उनले भने, ‘पछिल्लो समय अनियन्त्रित रूपमा माछा मार्ने गतिविधिका कारण यो प्रजाति लोप हुने अवस्थामा पुगेको हो ।’
उन अनुसार २०२० मा गरिएको अध्ययनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै लोपोन्मुख प्रजातिसहितका माछा रहेको उल्लेख गरेको छ । त्यसमा महाकालीको महाशेर माछा पनि छ । महाकालीको आकर्षणका रूपमा रहेको महाशेर माछा संरक्षण गरेर जलीय जैविक विविधता कायम राख्न सके जल पर्यटनलाई समेत टेवा पुग्ने उनले बताए । -रासस