सिँचाइ मन्त्रालयले चालू आर्थिक वर्षका निमित्त थप पाँच नयाँ आयोजना सञ्चालन गर्ने भएको छ । मन्त्रालयले प्रस्ताव गरेको रू. १० अर्ब १३ करोड ७० लाख बजेटमा नियमितबाहेक ती नयाँ कार्यक्रम ल्याएको योजना शाखाका वरिष्ट डिभिजन इन्जिनीयर प्रमोद श्रेष्ठले बताए । प्रस्तावित नयाँ कार्यक्रममा सुनसरी सिँचाइ आयोजना, सिँचाइ विकास फन्ड बोर्ड, पहाडी सिँचाइ प्रणालीहरूको पुनः स्थापना आयोजना जलउत्पन्न प्रकोप नियन्त्रण आयोजना, (टार बजार संरक्षण कार्य) र भेरी–बबई डाइभर्सन सम्भाव्यता अध्ययन पर्छन् । जमुनी सिँचाइ आयोजनाका निम्ति रू. ५ करोड, पहाडी सिँचाइ प्रणालीहरूको पुनःस्थापनाका लागि रू. ५ करोड, टार बजार संरक्षण कार्यका लागि रू. ३ करोड र भेरी–बबई डाइभर्सन सम्भाव्यता अध्ययन (प्रथम चौमासिक) का निमित्त रू. १ करोड ६० लाख गरी कुल रू. १५ करोड ६० लाख बजेट माग गरिएको इञ्जिनीयर श्रेष्ठले जानकारी दिए ।
मन्त्रालयको सिँचाइ विभागअन्तर्गत २७ र जलउत्पन्न प्रकोपतर्फका चार शीर्षकअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । विभाग अन्तर्गत सञ्चालन हुने २७ कार्यक्रमका निम्ति कुल रू. ७ अर्ब ३९ करोड २० लाख ७४ हजार र जलउत्पन्न प्रकोप नियन्त्रणतर्फ रू २ अर्ब ७१ करोड ५१ लाख ६५ हजार प्रस्ताव गरिएको हो । आव ०६६/६७ मा छुट्टै अस्तित्वमा आएको सिँचाइ मन्त्रालयले पहिलो वर्ष रू ७ अर्ब ७६ करोड १२ लाख ९० हजार बजेट पाएको थियो ।
वर्ष ६, अंक ३१, शुक्रवार, २२ असोज २०६७