नेपालका बैंकहरूको नाफालाई लिएर अनेक तर्क भइरहेका बेला नेपाल राष्ट्र बैंकले पनि नाफा कमाएको वासलात सार्वजनिक भएपछि अनेक टिप्पणी गरिएको पाइन्छ । नेपाल राष्ट्र बैंक नियामक निकाय भएकाले यो नाफामूलक संस्था होइन र उसले नाफाका लागि लगानी गर्न पनि पाउँदैन । यस्तोमा उसले कसरी नाफा कमायो त ?
ऋण प्रवाह गर्दा विभिन्न शर्त राख्ने र शर्तकै कारण देखाउँदै बैंकहरूले कर्जाको ब्याज बढाएकोमा आक्रोश पोख्ने समूह ठूलै पाइन्छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक वित्तीय विवरणअनुसार गत असारको विदेशी मुद्रा सञ्चितिको दाँजोमा पुस महीनामा बढेको छ । गत असारको तुलनामा पुसमा राष्ट्र बैंकको विदेशी मुद्राको सम्पत्ति १ खर्ब ३४ अर्ब रुपैयाँले वृद्धि हुँदा विदेशी मुद्राको दायित्व भने ७ अर्ब रुपैयाँले घटेको छ । यसरी राष्ट्र बैंकको विदेशी रिजर्भ बढेको देखिन्छ । त्यस्तै बैंकको रिजर्भ गत असारमा ४ खर्ब २ अर्ब रहेकामा पुस मसान्तमा ४ खर्ब ५१ अर्ब पुगेको छ । यसले केन्द्रीय बैंकले नाफा कमाएको देखाउँछ । राष्ट्र बैंक नाफामूलक संस्था नभए पनि उसले स्वदेश र विदेशमा विदेशी विनिमय सञ्चितिमा राखेको हुन्छ । अहिले डलरको मूल्य बढेकाले यसको नाफा बढेको हुन सक्छ । साथै, विदेशमा राखिएको नगदको पनि उसले ब्याज प्राप्त गर्छ । राष्ट्र बैंकले सरकारी सुरक्षणमा पनि लगानी गर्छ । त्यस्तै बैंकको सामाजिक सुरक्षालगायत कार्यक्रमको रकम उसले बैंकहरूमा मुद्दती खातामा राख्छ, जसबाट उसले नाफा आर्जन गर्छ । यसरी गैरनाफामूलक संस्था भए पनि उसको खातामा नाफा बढेको देखिन्छ । तर, वाणिज्य बैंकहरूले जस्तो उसले नाफाकै लागि लगानी गरेको भने हुँदैन ।
अहिले नेपालका बैंक तथा वित्तीय संस्थाले मुनाफा कमाएको भनी आलोचना पनि हुने गरेको छ । तर, बैंकहरूले लगानीअनुसार नाफा कमाउन नसकेको पनि बलियोसँग उठेको छ । बैंकहरू पारदर्शी रूपमा सञ्चालन भएकाले नाफा देखिए पनि बैंकले जत्तिकै लगानी गरेका अन्य व्यवसायको नाफा त्यो भन्दा बढी हुने गरेको तर्क पनि चर्चामा रहेको पाइन्छ ।
खासगरी ऋण प्रवाह गर्दा विभिन्न शर्त राख्ने र शर्तकै कारण देखाउँदै बैंकहरूले कर्जाको ब्याज बढाएकोमा आक्रोश पोख्ने समूह ठूलै पाइन्छ । बैंकहरूले निक्षेपको ब्याज घटाए पनि कर्जाको ब्याज नघटाएको गुनासो छ । तर, कैयन् बैंकले मुद्दती निक्षेप संकलन यसअघि नै गरिसकेका कारण तत्काल ठूलो अन्तरले कर्जाको ब्याज घटाउँदा पनि समस्या नै पर्ने देखिन्छ । यसअवधिमा बैंकहरूले लागत बढेपछि ब्याजदर बढाउनु परेको तर्क गर्ने गरेका छन् ।
आँकडामा हेर्दा बैंकहरूको मुनाफा देखिन्छ पनि । तर, अहिले बैंकहरू निकै ठूला भएका छन् । त्यसो हुँदा उनीहरूको प्रतिशेयर आम्दानी निकै घटेको छ । कुनै बेला प्रतिशेयर ६०/७० रुपैयाँ कमाएका बैंकको कमाइ अहिले २७/२८ रुपैयाँमा झरेको छ । प्रायः सबै बैंकहरूको प्रतिशेयरका आधारमा निकै घटेको छ ।
त्यसो त नेपालका बैंकहरूले सार्वजनिक गर्ने वित्तीय विवरणमा अझ सबै कुरा खुलाउने गरिएको छैन । भारतका बैंकहरूले त्योभन्दा बढी शीर्षकमा आफ्ना लगानीबारे जानकारी दिन्छन् । नाफाको लक्ष्य कति हो भन्नेसम्म विवरण उनीहरूले सार्वजनिक गर्ने गरेका छन् । त्यसैले नेपालका बैैंकहरूलाई थप पारदर्शी बनाउन आवश्यक छ ।
अतः नेपालको केन्द्रीय बैंक तथा अन्य वाणिज्य बैंकहरूको नाफाबारे स्पष्टता आवश्यक हुन्छ । समान लगानी गरेका व्यवसायबाट मनग्यै आम्दानी हुने तर बैंकबाट हुनु हुँदैन भन्ने तर्क व्यावहारिक हुँदैन । राष्ट्र बैंकको हकमा पनि सोही अवधारणाले काम गर्नुपर्छ । तर, यसको अर्थ अन्य क्षेत्र समस्यामा परिरहँदा नाफाजति वित्तीय संस्थाले मात्र गर्नुपर्छ भन्ने हुँदैन । समाजमा एकले अर्काको अस्तित्व स्वीकार्दै र सामाजिक न्यायको सिद्धान्तअनुसार लगानी र क्षमताअनुसार लाभ लिन पाउने व्यवस्था आवश्यक छ । यसका लागि निश्चित मापदण्ड पूरा गरेर स्थापना भएका बैंक हुन् वा उद्योग व्यवसाय, पारदर्शी रूपमा सञ्चालन हुन त आवश्यक छ नै । साथै, हरेक गतिविधिलाई सार्वजनिक गर्दै लैजानु आजको आवश्यकता हो ।