ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

औद्योगिक ग्राम निर्माण गर्दै रामपुर नगरपालिका

२०७९ माघ, १५  
लुम्बिनी प्रदेश
Tvs Raider NA

पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा विभिन्न उद्योग तथा व्यवसाय खुल्ने क्रम बढिरहेको छ । पहाडी जिल्ला भए पनि समथर भूभागमा फैलिएको रामपुरलाई अहिले कालीगण्डकी कोरिडोरले सडक पहुँच दिएको छ । त्यसकारण पनि यस क्षेत्रमा उद्योग, व्यवसाय स्थापित हुने क्रम दिनानुदिन बढ्न थालेको छ ।

रामपुर नगरपालिकाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न, बेराजगार युवालाई रोजगारी दिन र स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने गरी साना उद्योगलाई व्यवस्थित गर्दै औद्योगिक ग्राम नै स्थापना गरी काम अगाडि बढाउने भएको छ । उद्योग, व्यवसायमा धेरैको आकर्षण र लगानी बढ्दै जान थालेपछि नगरले ग्राम स्थापना गर्न लागेको हो ।

रामपुर नगरपालिका–७ स्थित बिरिन्टारमा करीब ४२ रोपनी क्षेत्रफलमा औद्योगिक ग्राम स्थापनाका लागि प्रक्रिया अघि बढेको छ । स्थानीय स्रोत साधन, कच्चापदार्थ, प्रविधि र शीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गरी उद्योग स्थापना, विकास र प्रवर्द्धन गर्दै छरिएर रहेका उद्योगलाई एकीकृत गर्ने गरी ग्राम स्थापना हुने भएको छ ।

नगर प्रमुख रमणबहादुर थापाले वैदेशिक रोजगारीबाट फर्केका, ३० वर्षभित्रका युवायुवतीलाई रोजगारी दिलाउने प्राथमिकताका साथ स्थानीय उत्पादन, स–साना खालका उद्योग स्थापना गर्ने बताए । जग्गाको चारैतिरको क्षेत्रमा बारबन्देज, प्रवेशद्वार, प्रशासनिक भवन, शौचालय निर्माणलगायतका काम अब छिट्टै सम्पन्न गरी ग्राम स्थापना गर्ने प्रक्रिया अगाडि बढेको नगर प्रमुख थापा बताउँछन् ।

‘स्थानीयस्तरमा पाइने कच्चापदार्थ उत्पादन गर्ने, घरेलु उद्योग विस्तार गरी नागरिकको आयस्तर उकास्नका लागि औद्योगिक ग्राम स्थापना गर्न लागेका छौं,’ उनले भने, ‘ग्राम सञ्चालनका लागि उद्योगी, व्यवसायीलाई सहुलियतमा जग्गा भाडामा दिने र उद्योग सञ्चालनका लागि संरचना बनाउने काम स्वयं उद्योगी, व्यवसायीले नै गर्नुपर्नेछ ।’

बिरिन्टार क्षेत्रमा स्थापना हुने औद्योगिक ग्रामका लागि रू. २६ करोड ११ लाख लागतमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारी प्रक्रियाको शुरू गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट रामपुर नगरपालिकालाई आर्थिक वर्ष (आव) २०७६/७७ मा रू. ८० लाख रकम प्राप्त भएको थियो । सो आवको चैतमा मात्र योजना सम्झौता गरी रू. ६७ लाख रुपैयाँबाट औद्योगिक ग्राम क्षेत्रमा पर्ने खोलाको किनार छुट्ट्याउने, ग्रामको दक्षिणतिरको भागमा करीब ५० मिटर पक्की पर्खाल लगाउने, बाटोको पहुँचमार्ग, पार्किङस्थल सम्याउनेलगायतका काम भएको रामपुर नगरपालिकाका इन्जिनियर कृष्ण थापाले बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)