महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर बजार क्षेत्रमा तीन दशकपछि खानेपानीका पाइप फेरिएका छन् । खानेपानी संस्थानले क्षेत्रीय शहरी विकास आयोजनासँगै महेन्द्रनगर क्षेत्रमा खानेपानीका जीर्ण पाइप फेर्ने काम अघि बढाएको थियो । खानेपानीका पाइप फेर्ने काम अन्तिम चरणमा रहेको संस्थानले बताएको छ ।
महेन्द्रनगरस्थित खानेपानी संस्थानकी शाखा प्रमुख संगीता थापाले योजनाको ७५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको जानकारी दिइन् । उनका अनुसार महेन्द्रनगर बजार क्षेत्रमा व्यवस्थित सडक निर्माण योजनासँगै संस्थानले खानेपानीका पुराना पाइप परिवर्तन गर्न थालेको हो । महेन्द्रनगर बजारका पाँचओटै गल्ली र मेन लाइनका क्षेत्रमा नयाँ पाइप फेरिएको छ भने मदन चोक, बसपार्क र भगतपुर क्षेत्रमा काम भइरहेको छ ।
३० किलोमिटर नयाँ पाइप लाइपलाइन विस्तार गर्ने योजना रहेकोमा हालसम्म २५ किलोमिटरभन्दा बढी पाइपलाइन बिछ्याइएको संस्थानकी शाखा प्रमुख थापाले बताइन् । ‘क्षेत्रीय शहरी विकास आयोजनाको सडक निर्माणसँगै संस्थानले काम गरिरहेको छ,’ उनले भनिन् ‘अधिकांश पाइपलाइन बिछ्याउने काम सम्पन्न भइसकेको छ, केही ठाउँमा नाली खन्न बाँकी छ ।’ क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत भीमदत्तमा ३० किलोमिटर नालीसहितका चौडा सडक निर्माण भइरहेको छ ।
निर्माण दिगो बनाउन सडक आयोजना र संस्थानको काम सँगै शुरू गरिएको शाखा प्रमुख थापाको भनाइ छ । एक वर्षभित्र निर्माण सक्नेगरी ठेक्का सम्झौता भएकोमा खगराज एण्ड अमित कन्स्ट्रक्सनलाई फागुनसम्म समयसीमा दिइएको छ । पाइपलाइन परिवर्तनका लागि ४५ लाखमा ठेक्का सम्झौता भएको थियो । हालसम्म १५ लाख भुक्तानी भइसकेको संस्थानले बताएको छ । पाइप खरीदसहित योजनाको लागत ४ करोड रुपैयाँभन्दा बढी छ । खानेपानीका पाइप जीर्ण हुँदा ठूलो मात्रामा पानी चुहावट हुने गरेको थियो । तीन हजारभन्दा बढी उपभोक्ता रहेको संस्थानको शाखाले दैनिक ९ घण्टा पानी वितरण गर्दै आएको छ ।