काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकता लिएका छन् । लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आइतवार दिउँसो नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि दर्ता गरेको र उनले आज दिउँसो नागरिकता लिएको जानकारी दिए । साढे ११ बजेतिर कार्यालय पुगेका लामिछानेले दिउँसो सवा २ बजेतिर नागरिकताको प्रमाणपत्र लिएका हुन् । ३ घण्टा पनि नलाग्ने नयाँ नागरिकताको प्रक्रिया रविले किन पूरा गरेनन् भन्ने प्रश्न तेस्रिएको छ ।
सर्वोच्च अदालतले शुक्रवार नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद बदर गरेको थियो । सो फैसलासँगै उनको सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिको पद खारेज भएको थियो ।
उनले आज प्रक्रिया पूरा गरी पुनः नागरिकता लिएपछि निर्वाचन आयोगमा नयाँ नागरिकताको प्रतिलिपि पेश गरेर पार्टी सभापति बन्न सक्ने छन् । तर सांसद बन्न भने पुनः निर्वाचन लड्नुपर्ने छ ।
अमेरिकी नागरिकता त्यागे पनि लामिछानेले नेपाली नागरिकताको पुनः प्राप्तिका लागि निवेदन दिएका थिएनन् । लामिछाने गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । अब निर्वाचन आयोगले उपनिर्वाचनको सूचना निकालेपछि लामिछानेले पुनः निर्वाचन लड्नुपर्ने भएको छ । रासस