काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको आरोप लगाएका छन् । आइतवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले लामिछानेको नागरिकता प्रकरणले सत्ता समीकरणमा फेरबदल नहुने स्पष्ट पारे । उनले राजनीतिक मिसन अदालती प्रक्रियाले उत्पन्न गरेको प्रश्नहरूका कारण नबिथोलिने भन्दै समस्याहरूको समाधान गरिने बताए । उनले विगतमा पीआर लिएर विदेशमा बसेका थुप्रै व्यक्तिहरू नेपाल फर्किंदा स्वतः नेपाली नागरिक भएका आम अभ्यास रहेको भएपनि कसैले प्रश्न नउठाएको बताए ।
‘पीआर लिएका व्यक्तिहरूले पीआर परित्याग गरेको घोषणा गरेर त्यसपछि फेरि नयाँ प्रक्रियाबाट नागरिकता प्राप्त गरेको सुन्नुभएको छ ? तर, रवि लामिछानेको हकमा यसलाई विषय बनाइयो । यो विषयलाई अगाडि बढाएर सत्ता समीकरणमा फेरबदल ल्याउन सकिन्छ कि भन्ने अर्थमा यसलाई मुद्दा बनाइयो,’ उनले भने, ‘तर यसले उनीहरूले सोचेजस्तो काम गर्दैन । किनकी राजनीतिक मिसन भनेको अदालती प्रक्रियाले उत्पन्न गरेका प्रश्नका कारणले बिथोलिने होइन । राजनीति भनेको त्योभन्दा माथिको चिज हो । त्यस अर्थमा हामी यसलाई राजनीतिक ढंगले ट्याकल गर्छौं । समाधान गर्छौं भन्ने कुरा नै मुख्य कुरा हो भन्ने मलाई लाग्छ ।’
महासचिव पोखरेलले रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले देखाएको सक्रियता चमत्कारिक रहेको टिप्पणी गरे । उनले अदालतमा त्यस्तै प्रकृतिका मुद्दाहरूको निरुपण गर्न उदासिन हुने र प्रक्रिया नै अगाडि नबढ्ने स्थिति हुने तर कतिपय मुद्दाहरूको फटाफट निर्णय हुने गरेको भन्दै यसको यथोचित जवाफ अदालतले दिनुपर्ने बताए । साथै उनले आफूहरूले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने बताए ।