देउखुरी । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘शून्य प्लाष्टिक’ अभियान थालिएको छ । प्लाष्टिकका कारण जताततै फोहोर फैलिँदा यसबाट लुम्बिनी भ्रमण गर्न आउने पर्यटक र यहाँको वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले उक्त अभियान थालिएको हो ।
नगर सफा र स्वच्छ बनाउन अभियान शुरू गरिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा ‘ग्रिनरी नेपाल’ नामक संस्थाले ६ महीनासम्म अभियान सञ्चालन गर्नेछ । अभियानको शुरुआत गर्दै रूपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले अन्तरराष्ट्रिय पर्यटकीयस्थल भएकाले यस क्षेत्रमा सरसफाइ अनिवार्य हुनुपर्ने बताए । ‘लुम्बिनीपछि यस क्षेत्रका अन्य स्थानीय तहलाई समेत शून्य प्लाष्टिक बनाउन पहल गर्नेछौं,’ उनले भने ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. हृदयरत्न वज्राचार्यले प्लाष्टिकजन्य फोहोरले पर्यावरण र जलवायुमा समेत नकारात्मक असर परेकाले विद्यालयदेखि विश्वविद्यालय तहसम्म यसबारे चेतना फैलाउन आवश्यक रहेको बताए ।
लुम्बिनी प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले पर्यटक आकर्षित गर्न र उनीहरूको बसाइ लम्ब्याउन लुम्बिनी सफा र स्वच्छ हुनु पहिलो शर्त भएको बताए । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले अभियानमा जनप्रतिनिधि, सामाजिक तथा व्यावसायिक संघसंस्थाको सहभागितामा ६ महीनासम्म सरसफाइ अभियान सञ्चालन गरिने बताए ।
ग्रिनरी नेपालका अध्यक्ष निपेश ढाकाले अभियानमा संस्थाका २२ स्वयंसेवक चेतना अभिवृद्धिका साथै फोहोर संकलन, फोहोर वर्गीकरण र फोहोर विसर्जनमा खटिने बताए । अभियानमा सबैको सहयोग आवश्यक रहेको समेत उनले बताए ।
कार्यक्रममा लुम्बिनी क्षेत्रसँग जोडिएका गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल र शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले बुद्ध जन्मस्थल लुम्बिनीलाई प्लाष्टिक शून्य बनाउने अभियानमा सबैको साथ रहने बताए । रासस