ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

‘सीएनआई कोशी एक्स्पो २०७९’: घरेलु र साना उद्यमीका ७२ ओटा स्टल

२०७९ माघ, १६  
कोशी प्रदेश
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर । विराटनगरमा माघ १९ देखि हुने ‘सीएनआई कोशी एक्स्पो २०७९’ मा घरेलु तथा साना उद्यमीका उत्पादनका स्टल प्राथमिकताका साथ राखिने भएको छ । एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको समन्वयमा लघु, घरेलु, साना र कृषि उद्यमीका मात्रै ७२ ओटा स्टल रहने बताइएको छ ।

एक्स्पोमा ताप्लेजुङको राडी, तेह्रथुमको ढाका, भोजपुरको खुकुरी, विभिन्न जिल्लामा निर्मित हस्तकलाका सामान, घरेलु सामग्रीबाट निर्मित जुत्ताचप्पल, ढाकाका कपडा, विभिन्न जातका फलफूल र अचारका स्टल रहनेछन् । त्यसैगरी हिमाली जिल्लाका जडीबुटी, छुर्पी, मह, चीज, अकबरे खुर्सानी लगायतका अग्र्यानिक उत्पादन पनि एक्स्पोमा राखिने नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले जानकारी दिए ।

विशेषगरी महिलाहरू संलग्न भएर शुरू गरिएका लघु तथा घरेलु उद्योग र कृषिका उत्पादन एक्स्पोका माध्यमबाट बजारसम्म पुर्‍याउने लक्ष्य राखिएको छ । साथै खुला बजारमा महिलाको पनि पहुँच स्थापित गर्ने उद्देश्यले उनीहरूको उत्पादनको स्टललाई प्राथमिकता दिइएको निरौलाले बताए ।

‘यो एक्स्पोमा हामी पनि साझेदारको रूपमा छौं, त्यसैले लघु तथा घरेलु, कृषि उत्पादनको प्रवर्द्धनका लागि एक्स्पोमा विशेष स्थान पाएका छौं,’ उनले भने, ‘साना तथा घरेलु उद्यमीलाई ठूला उद्योगीसरह आफ्ना उत्पादनको प्रदर्शनी र विक्रीवितरणको अवसर मिलेको छ, यसलाई निकै ठूलो उपलब्धि ठानेका छौं ।’

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ एक्स्पोको सहयोगी संस्थाको रूपमा रहेको छ । महासंघकै पहलमा जुटका सामग्री  र हस्तकलाका वस्तु प्रदर्शनमार्फत उपभोक्तासमक्ष पुर्‍याउन लागिएको महासंघको महिला उपसमितिकी अध्यक्ष सुनिता छाराहाङले बताइन् ।

आफ्नै लघु उद्योगबाट उत्पादित साबुन, फिनेल लगायत सामग्री एक्स्पोमा राख्न लागिएको उद्यमी रेखा चौधरीले बताइन् । एक्स्पोमा ४०० भन्दा बढी स्टल रहने एक्स्पोकी सहसंयोजक गिरिजा शारडाले बताइन् । महिलालाई स्टल राख्न विशेष प्रोत्साहन गरिएको जानकारी उनले दिइन् । एक्स्पो माघ २८ गतेसम्म चल्नेछ । विराटनगर–२ शंकरपुरमा एक्स्पोको तयारी तीव्र पारिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)