निर्मूल नहुने रोग सिट्रस ग्रिनिङको संक्रमणका कारण कास्की जिल्ला र यस आसपासको सुन्तलाखेती जोखिममा परेको छ । गतवर्ष ९ सय २६ हेक्टरमा गरिएको यो खेती रोगकै कारण अहिले ७ सय हेक्टरभन्दा पनि कम क्षेत्रमा खुम्चिएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । रोग लागेपछि उत्पादनमा समेत कमी आएको बागवानी विकास अधिकृत मनोहर कडरियाले बताए । ‘२०प्रतिशत क्षेत्रफलबाट सुन्तलाखेती विस्थापन भैसकेको छ । यसको रोकथाम जिल्ला कृषि विकास कार्यालय कास्कीले मात्र गर्न सक्दैन,’ उनको भनाइ थियो ।
रोगको संक्रमणपछि सिट्रससिला कीराले बिस्तारै सुन्तलाको बोटमा आक्रमण गर्ने र उत्पादन घटाउने गर्दछ । यो कीरालाई त्यतिकै मार्न सकिँदैन । बिस्तारैबिस्तारै यो सबैतिर फैलँदै जान्छ । उत्पादनमा ह्रास र सुन्तलामा लागेको रोगले पारेको जोखिमबारे जानकारी दिँदै उनले भने, ‘राष्ट्रिय स्तरबाट सुन्तला बचाउन अभियान नथालिए कास्कीमा सुन्तलाखेती लोप हुन आठ वर्ष पनि लाग्दैन ।’ कडरियाले गत आव ०६६/६७ मा ७ हजार ७ सय १७ मेट्रिक टन सुन्तला उत्पादन भएको बताउँदै चालु आवमा उत्पादनमा एक तिहाइले ह्रास आउने ठोकुवा गरे । यस रोगले छोएपछि सुन्तलाको बोट बिस्तारै पहेँलिने र हाँगाहरू मर्ने र बोटमा दानाहरू कम लाग्ने सुन्तला विशेषज्ञहरूले बताएका छन् । ‘यो रोग निवारणका गर्न राष्ट्रिय स्तरको योजनाबद्ध ढंगले पहल गर्नुपर्छ,’ उनले भने ।
वर्ष ६, अंक ३१, शुक्रवार, २२ असोज २०६७