ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

किबीको जाम उत्पादन शुरू

२०७९ माघ, १७  
कोशी प्रदेश
Jagdamba Supershine NA

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा किबीको जाम (खुदो) उत्पादन शुरू गरिएको छ । स्थानीय सातजना उद्यमीले चिमाल फलफूल प्रशोधन उद्योग दर्ता गरेर किबीको जाम उत्पादन गर्न थालेका हुन् । उद्योगबाट उत्पादित जाम दिक्तेल बजार तथा आसपासका क्षेत्रमा विक्री हुँदै आएको सञ्चालक समितिका अध्यक्ष शुभचन्द्र राईले जानकारी दिए । ‘परीक्षण चरणमै रहेको जामले बजार मूल्य राम्रो पाएको छ,’ उनले भने, ‘पहिलो चरणमा पाँच सय ग्राम रू. तीन सय र ७०० ग्राम रू. चार सयमा विक्री भइरहेको छ ।’

जाम, जुस, स्क्वास, क्याण्डीलगायत १३ प्रकारका खाद्य वस्तु उत्पादन गर्ने गरी प्रशोधन उद्योग सञ्चालन गरिएको बताइएको छ । किबी, केरा, आँप, आल्चा, नास्पती, अम्बा, मेहेललगायतका फलफूलबाट विभिन्न प्रकारका खाद्य वस्तु उत्पादन गर्ने गरी उद्योग स्थापना गरिएको समितिका सचिव कविकुमार राईले जानकारी दिए । गत मङ्सिर २० गते घरेलु तथा साना उद्योग कार्यालय खोटाङबाट स्वीकृति लिएको फलफूल प्रशोधन उद्योगमा रू. २५ लाखभन्दा बढी लगानी रहेको छ । शुरुआती चरणमा रू. पाँच लाख लगानीमा उपकरण खरीद गरेर उद्योग स्थापना गरिएको अध्यक्ष राईले बताए ।

जिल्लामै पहिलोपटक फलफूल प्रशोधन उद्योग स्थापना भएपछि कृषक उत्साहित भएका छन् । आफूले उत्पादन गरेका किबी, केरा, आँप, आल्चा, नास्पती, अम्बा, मेहेललगायतका फलफूल खेर नजाने भएपछि कृषक उत्साहित भएका हुन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै खोलिएको उद्योगमा जिल्लाका विभिन्न ठाउँमा उत्पादन गरिएका फलफूल संकलन गरेर प्रशोधन गर्ने लक्ष्य राखिएको छ । प्रशोधन उद्योग अभावमा जिल्लाका कृषकले उत्पादन गरेका फलफूल यस अघिसम्म खेर जाने गरेको थियो ।

दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय किबी उत्पादन बढ्न थालेको छ । केही वर्षदेखि मात्र उत्पादन हुन थालेको किबी अहिले प्रतिकेजी रू. २५० मा फार्मबाटै विक्री हुँदै आएको छ । जिल्लाका कृषकले उत्पादन गरेका किबी बाहिरी जिल्लासमेत निर्यात हुँदै आएको छ । जिल्लामा उत्पादित किबी पूर्वी तराई र काठमाडौंमा निकासी हुने गरेको कृषक बताउँछन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)