काठमाडौं । नेपाल भ्रष्टाचारको विश्वव्यापी सूचकांकमा ११०औँ स्थानमा रहेको छ । विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्स्परेन्सी इन्टरनेसनलले मंगलवार भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)–२०२२ सार्वजनिक गरेको छ । जसमा नेपाललाई १०० मा ३४ अंक दिएर ११०औं स्थानमा राखेको छ । सन् २०२१ मा ३३ अंक पाउँदै नेपाल ११७ औं स्थानमा थियो ।
यस वर्ष सूचकांकमा डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने देशमा पर्दा सोमालिया १२ अंक प्राप्त गरी १८०औँ स्थानमा रहेर सबैभन्दा बढी भ्रष्टाचार हुने देशको रुपमा सूचीकृत भएको छ । भारत ४० अंकसहित भ्रष्टाचार हुने मुलुकको ८५औँ स्थानमा रहँदा चीन ४५ अंक प्राप्त गरी ६५औँ स्थानमा रहेको छ ।
नेपालले यस अघि सन २०१९ मा पनि ३४ अंक पाएको थियो । यो नै नेपालको सबैभन्दा राम्रो स्कोर हो । पछिल्लो १० वर्षको अवधिमा नेपालले न्युनतम २७ र अधिकतम ३४ अंक मात्रै पाएको छ । यो आधारमा नेपालमा भ्रष्टाचारका घटनामा कमी नआएको देखिन्छ । यद्दपी नेपालले पछिल्लो ३ वर्षको तुलनामा भने १ अंक मात्रै भए पनि थप पाएको छ ।
सन २०१५ देखि १९ सम्मको अवधिमा भने नेपालले भ्रष्टाचार नियन्त्रणमा केही उपलब्धी हात पारेको देखिन्छ । २०१९ देखि २२ सम्म भने नेपालको भ्रष्टाचारको स्थिती स्थिर जस्तै देखिएको छ ।