काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक १५ दशमलव ७० अंक घटेर २ हजार १११ दशमलव ६८ विन्दुमा ओर्लिएको छ । १२ कारोबार दिन अघि बजार २२११ विन्दुमा थियो । उक्त समयमा कारोबार रकम पनि ५ देखि ७ अर्ब रुपैयाँसम्म पुगेको थियो । अहिले कारोबार रकम पनि घटेर २ अर्ब ८२ करोड रुपैयाँमा सीमित भएको छ । यसअघि गत पुस १३ गते २ अर्ब ११ करोड रुपैयाँको कारोबार भएयता कुनै पनि दिन २ अर्ब ८५ करोड रुपैयाँभन्दा कम कारोबार रकम थिएन ।
१२ दिनको अवधिमा १०० अंक गुमाएको बजारले चार दिनमा मात्रै ७२ अंक गुमाएको छ । छोटो समयमै २० प्रतिशत बढेको बजारमा प्रोफिट बुक गरेर बसेको लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ ।
राजनीतिले पनि शेयर बजारमा प्रभाव पार्ने गर्दछ । सोही कारण पनि लगानीकर्ता अन्योलमा देखिएका हुन् । निक्षेपको ब्याजदर घटे पनि कर्जाको ब्याजदर यथावत् छ । महँगो कर्जा लिएर जोखिम लिन नचाहेको एक लगानीकर्ताले बताए ।
लगानीकर्ताले मौद्रिक नीतिको समीक्षा कुरेको देखिन्छ । मौद्रिक नीतिमार्फत लगानीकर्ताको माग सम्बोधन भएमा शेयर बजारको आगामी यात्रा सकारात्मक रहने जानकारहरू बताउँछन् ।
कारोबारमा आएका २५९ धितोपत्रको ७५ लाख ५३ हजार २३५ कित्ता ५३ हजार ८७८ पटकमा रू. २ अर्ब ८२ करोड बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ५९४ दशमलव २० कायम भएको छ । त्यस्तै दोस्रोमा बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य ७ दशमलव ३७ प्रतिशत बढेर रू. ६११ दशमलव ९० पुगेको छ ।
मंगलवार सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ५ दशमलव २१ प्रतिशत घटेर रू. ४७७ दशमलव ३० मा झरेको छ । त्यस्तै दोस्रोमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४ दशमलव ९७ प्रतिशत घटेर रू. ८४१ कायम भएको छ ।
यस दिन रिडी पावर कम्पनीको शेयर सर्वाधिक खरीदविक्री रू. १९ करोड २० लाख बराबरको भएको छ । कम्पनीको बम्पर लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेकाले पनि सर्वाधिक शेयर कारोबार भएको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले ४० प्रतिशत बोनस शेयर र २ दशमलव १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि माघ १८ गते बुक क्लोज गरेको छ । सोही आधारमा माघ १७ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।
त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको रू. १४ करोड ३७ लाख बराबरको कारोबार भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये हाइड्रोपावर समूहको परिसूचक शून्य दशमलव शून्य २ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी लगानी समूहको सूचक १ दशमलव ३१ प्रतिशत घटेको छ ।