ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

निर्यात व्यापारका दुःख : करोडौं घाटा खाएर पौने ४ अर्बको अलैंची निर्यात, 'टनमै ७७ हजार घाटा'

२०७९ माघ, १७  
बजार समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालले चालू आर्थिक वर्षको पहिलो ६ महीनामा ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको अलैंची निर्यात गरेको छ । उक्त मूल्यको ४६ लाख ७२ हजार ९३४ किलोग्राम अलैंची निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

गत वर्षको सोही अवधिमा नेपालले २ अर्ब २८ करोड रुपैयाँ बराबरको २६ लाख ६ हजार ७०३ किलोग्राम अलैंची निर्यात गरेको थियो । गत वर्षको सो अवधिको तुलनामा यो वर्ष अलैंची निर्यात ६३.५१ प्रतिशतले बढेको हो ।

नेपालबाट अलैंची निर्यात बढेपनि मूल्य भने घटेको छ । गत वर्ष प्रतिकिलो ८७७ रुपैयाँका दरले निर्यात भएको अलैंची यो वर्ष भने प्रतिकिलो ८०० रुपैयाँमै निर्यात भएको देखिन्छ । 

अलैंचीको निर्यातले पनि व्यापार घाटा घटाउन टेवा पुग्ने तथ्याङ्कले बताउँछ । गत वर्ष भरिमा नेपालले ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको ५३ लाख ६७ हजार ४४३ किलोग्राम अलैंची निर्यात गरेको थियो । 

नेपालले अलैंची भारत र पाकिस्तानमा निर्यात गर्ने गरेको छ । यो ६  महीनामा अवधीमा नेपालले सबैभन्दा धेरै भारतमा ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको ४६ लाख ६२ हजार ९३४ किलोग्राम र पाकिस्तानमा ४५ लाख ४९ हजार रुपैयाँ बराबरको १० हजार किलोग्राम अलैंची निर्यात गरेको छ ।

नेपाली अलैंची खाडी मुलुकमा निर्यातको ढोका खुलेपनि अहिलेसम्म भारत र पाकिस्तान बाहेका देशमा नेपालले अलैंची निर्यात गर्न सकेको छैन । नेपालले भएभरको अलैंची भारतमै निर्यात गरिरहेको छ । जसका कारण नेपाली किसानले अलैंचीको उचित मूल्य पाउन नसकेको कृषकहरू बताउँछन् ।

कतारलगायत खाडी मुलुकले उनीहरूको देशको मापदण्डअनुसार उत्पादन भएका खाद्य वस्तुलाई निर्यातको अनुमति दिएका छन् । त्यसै अनुसार अलैंची निर्यात गर्न नेपालले हलाल सर्टिफिकेट पनि पाएको छ । तर, नेपाली व्यवसायीहरूले खाडी मुलुकमा अलैंची निर्यात गर्ने हिम्मत गर्न सकेका छैनन् । गत वर्ष मूल्य घटेपछि स्टकमा राखेको अलैंची यो वर्ष कम मूल्यमै भएपनि किसानले विक्री गरेका छन् । जसबाट उनीहरूलाई करीब ३६ करोड रुपैयाँ घाटा भएको देखिन्छ ।

नेपाली अलैंचीको मुख्य बजार भारतमा समेत यसवर्ष उत्पादन बढेकाले त्यसको असर नेपाली अलैंचीको मूल्यमा परेको व्यवसायीहरू बताउँछन् ।

नेपालमा उत्पादन हुने मसला बालीमध्ये उत्पादन र क्षेत्रफलका आधारमा अदुवा अग्रस्थानमा छ भने अलैंची अन्तिममा छ । नेपालमा करीब १ हजार ७ सय हेक्टर जमीनमा अलैंची खेती हुने गरेको सरकारी तथ्यांक छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)