पोखरा विमानस्थल उद्घाटन भएका दिनदेखि नै यो विमानस्थलको नाफाले ऋण तिर्न सकिँदैन भनेर बहस शुरू गरिएको छ । कुनै पनि आयोजनाका बारेमा त्यसले दिने लाभका बारेमा प्रशस्त छलफल हुनुपर्छ । यो सही हो । कतिपयले त यो विमानस्थल आवश्यकै थिएन भनेर समेत टिप्पणी गरेका छन् । तर, नेपालमा पर्यटन व्यवसाय विस्तार गर्ने हो भने विमानस्थल बन्नुको विकल्प छैन । पोखरा विमानस्थलले पर्यटनमा नयाँ सम्भावनाको ढोका खोलेको छ । यद्यपि यहाँ भएको विमान दुर्घटनाले तत्कालका लागि नकारात्मक सन्देश दिएको छ ।
कुनै पनि पूर्वाधार आयोजनाले तत्कालै लाभ दिँदैन । अहिले सवारीसाधनको चाप थेग्न नसकेका सडकहरूमा एकडेढ दशक अगाडि फाट्टफुट्ट गाडी गुड्थे । काठमाडौंको रिङरोड साँघुरो भएर अहिले विस्तारको क्रम चलिरहेको छ । तर, ४ दशकअघि यो रोडमा धान र गहुँ सुकाइरहेको देखिन्थ्यो । दिनभरिमा दुईतीनओटा भन्दा गाडी गुड्दैनथे । अहिले समय फेरिएको छ । विमानस्थल पनि त्यस्तै हो । उद्घाटन भएकै दिनदेखि मारामार चल्ने होइन । यसमा अन्तरराष्ट्रिय उडानकै लागि पनि प्राविधिक पक्ष मिलाउनुपर्ने हुन्छ । त्यसमाथि पनि उडान गर्न चाहने वायु सेवा कम्पनीहरूले पहिला बजारको अध्ययन गर्छन् । त्यसपछि मात्रै उडानको स्वीकृतिका लागि पहल गर्छन् ।
पोखरा विमानस्थलमा अहिले आन्तरिक उडानमात्रै शुरू भएको छ । यो अन्तरराष्ट्रिय उडान गर्न मिल्ने विमानस्थल भए पनि ठूलो विमान यसमा उडान र अवतरण गर्न समस्या छ । तर, भारत र चीनबाट आउने साना बोइङ विमान मजाले अवतरण गर्न सक्छन् । अहिले भारतीय मिडियामा चिनियाँ सहयोगमा बनेको विमानस्थल भनेर आपत्ति प्रकट गरेको पाइन्छ । यसमा भारतीय चासो र चिन्तालाई नेपालले सम्बोधन गर्न सक्नुपर्छ । भारतलाई पोखरा विमानस्थलबाट उडानका लागि अनुरोध गर्नुपर्छ । यसका लागि कूटनीतिक पहल पनि जरुरी हुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल चाँडै नै भारत भ्रमण जाने सम्भावना छ । त्यसमा पोखरा विमानस्थलबाट भारतीय वायु सेवाका विमानलाई उडान गराउन दाहालले भारतसँग आग्रह गर्नुपर्छ । साथै, विमानस्थलबारे कुनै भ्रम भए वा उसको कुनै सुरक्षा चिन्ता छ भने त्यसलाई हटाउने काम पनि भ्रमणका बेलामा गर्नुपर्छ । राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्न सकिँदैन, त्यस्ता विषयले प्रवेश पाउँदैनन् भने हतारमा भ्रमण गर्न जानु हुँदैन । तर, नेपालमा त्यस्तो अभ्यास छैन । प्रधानमन्त्री भएपछि भारत भ्रमण जानैपर्ने कर्मकाण्ड बसालिएको छ जुन गलत छ । जेहोस् भारतलाई पोखरा विमानस्थलबाट उडान गराउन कुनै न कुनै तरीकाले सहमत गराउनु सरकारको दायित्व हो ।
भैरहवा विमानस्थललाई पनि भारतले सहयोग गरिरहेको छैन । पश्चिमतिरका कुनै एक विन्दुबाट नेपाल प्रवेशका लागि भारतले हवाई मार्ग प्रयोग गर्न दिनुपर्छ । पर्यटनमन्त्रीले भारतीय राजदूतसँग यो विषयमा कुरा उठाएका छन् तर त्यसलाई निष्कर्षमा पुर्याउन पर्याप्त गृहकार्य जरुरी छ । पूर्वाधार ऋणको अवधि लामो हुन्छ । यस्तोमा अहिले पोखरा विमानस्थलको ऋणको भार मुलुकले थेग्न सक्छ कि सक्दैन भनेर जुन बहस थालिएको छ त्यो त्यति उपयुक्त देखिँदैन । यद्यपि बहसले सरकारलाई जिम्मेवार बनाउन मद्दत गर्छ । राज्यले गर्ने लगानी र कम्पनीले गर्ने लगानीमा हुने फरक नै यही हो । अर्को कुरा, विमानस्थलले सोझै नाफा नदेला तर त्यसले पर्यटन क्षेत्रमा दिने लाभ हेरिनुपर्छ ।
मुलुकको अर्थतन्त्र विस्तारमा त्यसको योगदान ठूलो हुन्छ । पोखरा पर्यटकीय नगरी हो र नेपाल आउने पर्यटकमध्ये अधिकांश पोखरा पुग्ने गर्छन् । अन्तरराष्ट्रिय विमानस्थललाई लक्षित गरेर नै यहाँ विभिन्न पर्यटकीय प्रडक्टहरूमा लगानी बढेको छ । पोखरालाई आधार मानेर वरपरका क्षेत्रमा पर्यटकीय पूर्वाधार बनेका छन् र बन्ने क्रममा छन् । यो विमानस्थलले पोखरा आसपासका क्षेत्रमा वैदेशिक लगानीसमेत आकर्षित गर्न सक्छ । त्यसैले तत्काल उडान भएन वा भएर पनि नाफा भएन, ऋण कसरी तिर्ने भनेर आलोचना गर्नु उपयुक्त हुँदैन । हो, सचेत पार्नुपर्छ, योजनाविना काम भयो भने त्यसमा खबरदारी पनि गर्नुपर्छ । यो नागरिक समाजको काम हो ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल बनाउन चीनको एक्जिम बैंकले ऋण दिएको छ । यसका लागि सरकारले बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको हो । यसको २५ प्रतिशतको ब्याज तिर्नुपर्दैन । ब्याज तिर्नु नपर्ने रकम ३४ करोड ४६ लाख ८५ हजार युआन हुन आउँछ । बाँकी रकममा २ प्रतिशत ब्याज छ । यस ऋणमा ७ वर्षको ग्रेस पिरियड छ र कुल २० वर्षमा यो ऋण तिरिसक्नुपर्छ ।
पहिलो किस्ता बापतको ५ करोड ३० लाख २८ हजार ४६१ युआन आगामी चैतमा तिर्नुपर्ने छ । दोस्रो किस्ता त्यसको ६ महीनापछि तिर्नुपर्छ । प्राधिकरणले एक्जिम बैंकको ऋण अर्धवार्षिक किस्तामार्फत चुक्ता गर्नुपर्छ । पोखराजस्तो पर्यटकीय केन्द्रमा १५/२० वर्षअघि नै यस्तो खालको विमानस्थल बनेको थियो भने पर्यटनले गति लिन्थ्यो होला भनेर कसैले पनि सोचेको पाइँदैन । मुलुकमा ५२ ओटा आन्तरिक विमानस्थल छन् । तीमध्ये ३३ ओटामात्रै सञ्चालनमा छन् । त्यसमा पनि नाफामा गएको विमानस्थल भने ज्यादै कम छन् । घाटामा गएका विमानस्थल पनि मुलुकको आवश्यकताअनुसार सञ्चालनमा रहेका हुन् । जनताको आर्थिक स्तर जति बढ्दै जान्छ, मुलुकमा आर्थिक गतिविधि जति विस्तार हुँदै जान्छ त्यति नै वायुसेवा पनि विस्तार हुँदै जान्छ । विमानस्थलमा स्तरीय सेवा दिन सरकारलाई झकझक्याउनुपर्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्दा पोखरा विमानस्थलबाट यात्रुहरूले बढी सुविधा पाउने, सहज अनुभव गर्ने हो भने पोखरा विमानस्थल बढी आकर्षक हुन सक्छ । त्यसका लागि काम गर्नु बुद्धिमानी हुन्छ ।
विमानस्थल जति बढी व्यस्त हुन्छ त्यति नै पर्यटन क्षेत्रले लाभ लिन्छ । विमानस्थल बन्ने तर उडान पर्याप्त नहुने हो भने पर्यटन क्षेत्र लाभान्वित हुँदैन । त्यसैले यसतर्फ सरकारको ध्यान जानुपर्छ ।
लेखक पर्यटन व्यवसायी हुन् ।