चितवन । उद्योग वाणिज्य संघ दाङको टोली चितवन आएको छ । उद्योग वाणिज्य संघ चितवनले दाङको अध्ययन अवलोकन भ्रमण टोलीलाई बुधवार चितवनमा स्वागत गरेको हो । उद्योग वाणिज्य संघ दाङका अध्यक्ष टंकसिंह बुढाथोकीको नेतृत्वमा टोली चितवन आइपुगेको हो ।
नेपालको विभिन्न औद्योगिक क्षेत्रहरूको अध्ययन अवलोकन गर्ने उद्देश्यले संघको टोली चितवन आएको हो । बुधवार आयोजित स्वागत एवं छलफल कार्यक्रमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले दुई संघको भेटघाटले मित्रता बढ्नुका साथै सरकारसँग पहल गर्नुपर्ने समस्याको पनि पहिचान हुने बताए ।
अध्यक्ष श्रेष्ठले सरकारले लागू गरेको संकुचनकारी मौद्रिक नीतिका कारण व्यवसायीलाई समस्या परेको स्मरण गराए । निजीक्षेत्रको संलग्नताविना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने भन्दै उनले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ दाङका अध्यक्ष बुढाथोकीले उद्योग वाणिज्य संघ चितवनले गरेको आतिथ्य तथा कार्यप्रगतिप्रति सन्तोष व्यक्त गरे । व्यावसायिक ऐक्यबद्धताका लागि उद्योग वाणिज्य संघ चितवनसँगै अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।