ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

विश्व सिमसार दिवस : संरक्षण नहुँदा पुरिँदै सिमसार क्षेत्र

२०७९ माघ, १९  
समाचार
Tvs Raider Image Not Found
काठमाडौंको बबरमहलस्थित वन तथा भू–संरक्षण विभाग परिसरबाहिर सिमसार दिवसका दिन राखिएको बोर्ड । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

काठमाडौं । आज विश्व सिमसार दिवस मनाइँदै छ । मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन । 

पछिल्लो सयम सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन् । सिमसार क्षेत्र असङ्ख्य जीवजन्तु तथा वनस्पतिका लागि महत्त्वपूर्ण बासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको संरक्षणकर्मी बताउँछन् । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले वन्यजन्तु, चराचुरुङ्गी र मानिसलाई आवश्यक पर्ने पानीको उपलब्धतामा सिमसारको महत्त्वपूर्ण योगदान रहेको बताए ।  

‘तालतलैया, पोखरीको सांस्कृतिक महत्त्व छ, यो मानवीय परम्परासँग जोडिएको छ,’ उनले भने, ‘कसैले माछा मार्ने, कसैले पूजा गर्नेलगायत क्रियाकलाप भइरहेका हुन्छन् ।’ 

सिमसारले तल्लो तटीय भूभागमा पानीको ‘रिचार्ज’ बढाउन र हावापानीको सन्तुलन मिलाउन महत्त्वपूर्ण भूमिका खेलेको ऐर बताउँछन् । प्राणीको जीवन पानीमा आश्रित भएको र पानीबिना जीवनको अस्तित्व नरहने भएकाले यो मान्छेको फोक्सोजस्तै भएको संरक्षण अधिकृत ऐरको भनाइ छ । उनले सिमसार क्षेत्र जोगाउन धेरै चुनौती रहेको उल्लेख गर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका ताल पुरिन लागेको बताए ।  

‘निकुञ्जभित्र हामीले बेला बेला सरसफाइ गर्ने गरेका छौं, ताल पुरिने समस्या छ,’ ऐरले भने, ‘निकुञ्जभित्र रहेको रानी ताल सुकिसकेको छ ।’ 

पानीमा आउने जलकुम्भी सिमसार क्षेत्र ओगट्ने गरेको छ । सिमसारमा हुने घाँसको तत्वले बर्सातको पानीलाई सोस्ने काम गर्छ, जसले गर्दा बाढीलाई समेत रोक्ने संरक्षणकर्मी बताउँछन् । 

प्रकृतिको अनुपम उपहार सिमसारले मानव समुदायलाई निःशुल्करूपमा वातावरणीय सेवा तथा जीवनयापनका सामग्री उपलब्ध गराइरहेको विज्ञान विषयका शिक्षक चेतन बोहरा बताउँछन् । ‘जैविक विविधता र पारिस्थितिकीय सन्तुलन कायम गर्न पनि सिमसार महत्त्वपूर्ण छ, यसको संरक्षणमा जोड दिनुपर्छ,’ उनले भने, ‘सिमसार क्षेत्र जोगाउन स्थानीय सरकारले विशेष पहल गर्नु आवश्यक छ ।’ उनले यहाँका बेतकोट ताल, झिलमिला ताललगायतका सिमसार क्षेत्र पुरिन थालेको बताए । 

सिमसार क्षेत्रमा सयौं जलीय र स्थलीय बोटबिरुवा र जनावर प्रजातिलाई आश्रय दिएको वन विज्ञान प्रतिष्ठान पोखरा क्याम्पसमा अध्ययनरत विद्यार्थी रितु जोशीले बताइन् । ‘सिमसार उभयचर र सरीसृप तथा फिरन्ते चराको प्रजननको लागि पनि उत्तिकै महत्त्वपूर्ण छ,’ उनले भने, ‘सिमसार क्षेत्रले बाढी नियन्त्रणसमेत गर्दछ ।’ 

कञ्चनपुरमा रहेका सिमसार क्षेत्र पनि कतै अतिक्रमण र कतै बर्सेनि पुरिँदै गएकाले यसको संरक्षणमा ध्यान दिन जरुरी छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)