काठमाडौं । २५ मेगावाट क्षमताको सेतीनदी जलविद्युत आयोजनाको काम ८० प्रतिशत भन्दा बढी सम्पन्न भएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधिन उक्त आयोजनाबाट आगामी साउन महीनाभित्र विद्युत उत्पादनको लक्ष्य लिइएको छ । २०७७ साउनदेखि निर्माण शुरू गरिएको आयोजना २७ महीनाभित्र सक्ने लक्ष्य भएपनि कोभिडका कारण १ वर्ष ढिलो गरी निर्माण सम्पन्न हुन लागेको हो ।
भिजन लुम्बिनी ऊर्जा कम्पनीले प्रवर्द्धन गरिरहेको उक्त आयोजनाले विद्युत प्राधिकरणले तोकेको व्यवसायिक विद्युत उत्पादन मिति २०८० साउन ४ गते भित्रै विद्युत दिने गरी काम गरिरहेको कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए ।
५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको अगुवाइमा ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी भएको छ । जसमा एनएमबीले २ अर्ब २० करोड, कर्मचारी सञ्चयकोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।
जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले १४ प्रतिशत इक्वीटी लगानी गरेको आयोजनामा स्थानीय ६०० व्यक्तिले १० हजार रुपैयाँ भन्दा माथि इक्वीटी लगानी गरेका छन् ।
आयोजनामा अहिलेसम्म ७० प्रतिशत वित्तीय प्रगति भएको छ । बाँध र सिभिल तर्फ ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । आयोजनामा हाइड्रो मेकानिकल तर्फ ८० र इलेक्ट्रोमेकानिकल तर्फ ५० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको छ ।
आयोजनाले वार्षिक १४८ गिगावाट आवर विद्युत ऊर्जा उत्पादन गर्ने छ । हिउँदको ६ महीनाको लागि प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षाको ६ महीनाको लागि प्रतियुनिट ४ रुपैयाँ ८० पैसाका दरले विद्युत प्राधिकरणसँग विद्युत खरीद विक्री सम्झौता (पीपीए) भएको छ ।
आयोजनाले बाँधस्थलबाट साढे ६ किलोमिटर लामो पेनस्टक पाइपमार्फत ल्याइएको पानीलाई १६५ मिटरको नेट उचाईंबाट सेमी अण्डरग्राउन्ड विद्युत गृहमा खसाएर २५ मेगावाट विद्युत उत्पादन गर्ने छ । विद्युत गृहमा १२ दशमलव ५ मेगावाट क्षमताका दुई ओटा टर्वाइन हुनेछन् ।
उत्पादन भएको विद्युतलाई करीब ४ किलोमिटर पर रहेको विद्युत प्राधिकरणको लाहचोक सवस्टेसनमा जोडिने छ । त्यहाँ सम्म विद्युत लैजान आयोजनाले १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ । प्रसारणलाइन निर्माणको काम भने ४० प्रतिशत मात्रै सम्पन्न भएको छ ।
२ महीनाभित्र आईपीओ आउने
आयोजनाले सर्वसधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया पनि शुरू गरिसकेको अध्यक्ष पोखरेलले बताए । आयोजनाको विद्युत उत्पादन हुनु अघि नै आईपीओ जारी गर्ने पोखरेलले दाबी गरे । कम्पनीले १ वर्ष अघि नै तेस्रो साधारणसभाबाट आईपीओ जारी गर्ने निर्णय गरिसकेको छ ।