काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक २२ दशमलव १२ अंकले घटेर बन्द भएसँगै नेप्से परिसूचक २ हजार ९४ दशमलव ५४ विन्दुमा पुगेको छ । यस दिन बजार १ दशमलव शून्य ४ प्रतिशतले घटेको छ ।
नेप्सेमा विहीवार २१६ ओटा धितोपत्रको ५८ लाख ९८ हजार ९०३ कित्ता ३९ हजार ६४२ पटक रू. २ अर्ब ९ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शेयर बजारका सक्रिय लगानीकर्ता सुनिलप्रसाद यादव राजनीतिक अन्येलका कारण आज बजार घटेको बताउँछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने चर्चाको प्रत्यक्ष प्रभाव आज शेयर बजारमा परेको यादवको दाबी छ । नागरिकता विवादमा फैसला आएपछि नयाँ नागरिकता लिएर पार्टी सभापति पद फिर्ता लिएका लामिछानेले उपप्रधान तथा गृहमन्त्री पद पनि फिर्ता मागिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतले पूर्ण पाठ नदिएसम्म गृहमन्त्री बनाउन नसकिने बताएपछि लामिछानेको दौडधुप बालुवाटारदेखि बालकोटसम्मै बढेको छ ।
यसै बीच लामिछानेले आज सामाजिक सञ्जालमा अब चुप नबस्ने भनेका छन् । यसको अर्थ रास्वपा सरकारबाट बाहिरिने र राष्ट्रपतिको चुनाव अघि नै सत्ता समिकरण फेरिन सक्ने अड्कलबाजीले शेयर बजारमा प्रभाव पारेको जानकारहरू बताउँछन् ।
विहीवार आदर्श लघुवित्तको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत अर्थात् १७५ दशमलव ३० रुपैयाँले वृद्धि भएको छ ।
यस्तै सानिमा इक्विटीको ३.१७ प्रतिशत, मल्टीपर्पस फाइनान्सको २.९६ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को २.४४ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड-३ को २.२० प्रतिशतले मूल्य बढेको छ ।
विहीवार सबैभन्दा बढी गुमाउने कम्पनीमा सपोर्ट माइक्रोफाइनान्स रहेको छ । कम्पनीको शेयर मूल्य ५.८० प्रतिशतले घटेको छ ।
यस्तै सिद्धार्थ इन्स्योरेन्सको ५.२९ प्रतिशत, रिडी पावरको ५.१३ प्रतिशत, आइएमई जनरल इन्स्योरेन्सको ४.५५ प्रतिशत र नाडेप लघुवित्तको ४.५३ प्रतिशतले शेयर मूल्य घटेको छ ।
यस्तै कारोबारमा आएका १३ वटै समूहको समूहगत परिसूचक घटेको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा बढी २.१७ प्रतिशतले घटेको छ ।