काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको पुस २५ गतेदेखि माघ १७ गतेसम्म विक्री गरेको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकलाई माघ १७ गते ऋणपत्र बाँडफाँट गरेको हो ।
बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदर रहेको ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र २०८९’ नामको ऋणपत्र बाँडफाँट गरेको हो । बैंकले प्रतिऋणपत्र रू. १ हजार अंकित दरको रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको हो । कूल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको हो भने बाँकी ४० प्रतिशत अर्थात् रू. ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणमा विक्री गरिएको हो ।
सर्वसाधारणका लागि विक्री गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि बाँडफाँट गरिएको छ । यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात् कर कट्टा गरी भुक्तानी गरिनेछ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।