ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

जलाशयबाट खेतबारीमा सिँचाइ

२०७९ माघ, २०  
लुम्बिनी प्रदेश
Tvs Raider NA

घोराही । सात वर्षको अवधिमा घोराहीका विभिन्न वडामा ४३ जलाशय निर्माण गरिएका छन् । यी जलाशयले घोराहीको विकास र समृद्धिमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । जलाशयबाट पर्यावरण जोगाउनुका साथै खेतबारीमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्य छ । यस अवधिमा घोराही उपमहानगरसँगै प्रदेश र संघीय सरकारको करीब २० करोड २१ लाख रुपैयाँ लागतमा करीब ९० बिगाहा क्षेत्रफलमा जलाशय निर्माण गरिएका छन् । पानीको मुहान सुक्दै जान थालेकाले कृत्रिम जलाशयका माध्यमबाट पानी संरक्षणमा उपमहानगरले चालेको यो कदमलाई सकारात्मक प्रयासका रूपमा लिइएको छ ।

घोराही उपमहानगरका १९ मध्ये १४ वडामा ३४ जलाशय निर्माण गरिएका छन् । सबैभन्दा धेरै जलाशय वडा नं १७ मा छन् । उक्त वडामा आठ जलाशय छन् । वडा नं १ मा चरिंगे, भोटे, चेपे, गवरे र चुरेमा जलाशय बनाइएका छन् ।

त्यसैगरी वडा नं २ मा चेपे, बलरामपुर र शहरेमा जलाशय निर्माण गरिएको छ । चेपे जलाशय सुर्केडाँगी, बाहुुनटारी, राइटारीलगायत ठाउँका लागि सिँचाइसँगै जल विहारका लागि आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको स्थानीय महेश चौधरी बताउँछन् ।

यस्तै वडा नं ४ मा अमारे, चरीखुट्टे, छरछरे, रोहिणी र सुकी दह, वडा नं ५ मा धारापानी र भमकी सिमसार जलाशय, वडा नं ६ मा लख्वारे, पिपल–छहारी, फचकपुर तल्लो र फचकपुर माथिल्लो जलाशय, वडा नं ८ मा लरैना जलाशय, वडा नं १० मा ठाँटी गाउँ जलाशय र वडा नं ११ मा सिरुगैरा जलाशय निर्माण गरिएको घोराही उपमहानगरपालिकाले जानकारी दिएको छ ।

त्यसैगरी वडा नं १२ मा जंगखोली, वनबाटिका र साततले, वडा नं १३ मा ज्यामिरे र बाह्रकुने, वडा नं १६ मा गंगटिया तल्लो र माथिल्लो, वडा नं १७ मा कटही, ढिकपुर, आरोग्य, कर्जाही, डबरी, गुलरिया, ओखरा, कमलपोखरी तथा वडा नं १८ मा अम्बापुर, गिठेपानी तल्लो जलाशय, गिठेपानी उपल्लो जलाशय, सुँगुरे, रानीजरुवा र काभ्रेखोला जलाशय निर्माण गरिएका छन् ।

जलाशय निर्माणपछि अहिले कृषि, माछापालन, पर्यटनजस्ता व्यवसायमा टेवा पुग्नुका साथै स्थानीयका लागि रोजीरोटीको माध्यम बनेको छ । शुरूमा केही क्षेत्रमा जलाशय निर्माणपछि स्थानीयको दैनिकीमा परिर्वतन र रोजगारी सृजना भएपछि उपमहानगरले जलाशय निर्माणमा लगानी बढाएको जानकारी दिएको छ ।

उपमहानगरभित्र पालिका र वडाको आफ्नै स्रोत व्यवस्थापनबाट र केही प्रदेश सरकार, केन्द्र सरकारसँगको समन्वयमा बजेट व्यवस्थापन गरी कतै नयाँ जलाशय निर्माण र कुनै ठाउँमा साना पोखरीलाई विस्तार गरिएको हो । निर्माण गरिएका जलाशयको बहुउपयोगितासँगै दिगो व्यवस्थापनका लागि थप बजेट आवश्यक पर्ने घोराही उपमहानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेल बताउँछन् ।

‘बनिसकेका जलाशयको स्तरवृद्धि र थप बन्ने जलाशयका लागि पालिकास्तर, वडास्तर तथा प्रदेश र संघसँग समन्वय गरी बजेट व्यवस्थापनको काम भएको छ । केही गर्ने तयारी छ,’ उनले भने, ‘कृत्रिम जलाशयले पानीको संरक्षणसँगै सिँचाइ र पर्यटन प्रवर्द्धनको काम गरेको छ ।’

उपमहानगरले शुरुआती वर्षमा १२ जलाशय निर्माण गरेको थियो । त्यसयता थप ३१ जलाशय निर्माण गरेको पौडेलले बताए । जलाशय निर्माणले सिँचाइ सुविधा पाएपछि किसान उत्साहित भएका छन् ।  उपमहानगरले यो अभियानले सुक्खा हुँदै गएको जमीनमा सिँचाइसँगै कृषिमा लाग्न प्रेरित गरेको घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरी बताउँछन् ।  रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)