काठमाडौं । भारतको उत्तरपूर्व विकास वित्त निगम (नेडफी) र नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)का प्रतिनिधिहरूबीच भेटवार्ता भएको छ । बिहीवार भएको भेटमा नेपाल र उत्तरपूर्वी भारतबीचको व्यापार, पारवहन, लगानी सहजीकरणको विषयमा छलफल भएको छ । यसैगरी आर्थिक क्षेत्रमा सम्बन्ध विकास तथा सहकार्यको वर्तमान अवस्था तथा सम्भावित परियोजनाबारे संवाद भएको बताइएको छ ।
भेटमा निक्कीका अध्यक्ष सृजना राणाले निक्कीको स्थापना, उद्देश्य, संरचना, यसले नेपाल–भारत व्यापार सहजीकरणका लागि गरेका प्रयासहरूबारे नेडफीका प्रतिनिधिहरूलाई जानकारी दिएकी थिइन् । साथै पर्यटन, जलविद्युत्, पूर्वाधार जस्ता क्षेत्रमा लगानी प्रवर्द्धन गरी दुवै देशले लाभ लिन सक्ने बताइन् ।
निक्कीका व्यापार तथा पारवहन समितिका संयोजक राजन शर्माले दुई देशबीचको व्यापारमा अझै पनि पारवहनसम्बन्धी समस्या रहेको बताए । यसकारण भारतीय भूमि भएर नेपाल आउने वस्तुकोे व्यापारमा पारवहन खर्च बढेको उनले अवगत गराए । निक्कीको साना तथा मझौला समितिका उपसंयोजक डम्मर खनालले नेपाली वस्तु भारत निकासीमा विभिन्न नीतिगत तथा व्यावहारिक समस्या रहेको औंल्याए । उक्त अवसरमा नेडफीका अध्यक्ष एवं प्रबन्ध निर्देशक पीभीएसएलएन मूर्तिले छलफलमा आएका सुझावहरू आफ्नो अध्ययनमा समावेश गर्ने बताए ।