काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७९/८० को पुसमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा सुधार देखिएको छ । वित्तीय क्षेत्रमा देखिएको तरलता अभावका कारण चालू आवको पहिलो त्रैमासमा १३ प्रतिशतले व्यवसाय गुमाएका निर्जीवन बीमा कम्पनीहरूले दोस्रो त्रैमासमा भने ५ प्रतिशभन्दा बढीले सुधार गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालू आवको पुससम्ममा निर्जीवन बीमा कम्पनीहरूले १३ लाख ९५ हजार ३२ ओटा बीमालेख जारी गरेका छन् । ती बीमालेख विक्रीबाट २० अर्ब ८ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गत आवको यसै अवधिको तुलनामा कम्पनीहरूको बीमालेख संख्या ६ दशमलव ११ प्रतिशतले घटे पनि बीमाशुल्क भने ५ दशमलव १५ प्रतिशतले बढेको छ । गत आवको पुससम्ममा ती कम्पनीहरूले १४ लाख ८५ हजार ८५१ ओटा बीमालेख जारी गरी १९ अर्ब ९ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।
चालू आवको पुसमा मात्र निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब १० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस महीनामा कम्पनीहरूले कुल २ लाख ४७ हजार ७६८ ओटा बीमालेख विक्री गरेको प्राधिकरणले जानकारी दिएको छ ।
पोहोर पुसको तुलनामा कम्पनीहरूको व्यवसाय ११ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ । गत आवको पुसमा कम्पनीहरूले ३ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।
यस्तै चालू आवकै मङ्सिरको तुलनामा कम्पनीहरूको व्यवसाय ५६ दशमलव ६५ प्रतिशतले वृद्धि भएको छ । मङ्सिरमा कम्पनीहरूले २ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क उठाएका थिए । चालू आवको शुरूदेखि नै घटिरहेको निर्जीवन बीमा व्यवसायमा पुसमा भने सुधार देखिएको छ ।
प्राधिकरणका अनुसार कम्पनीहरूले चालू आवको साउनमा ४ अर्ब ४८ करोड, भदौमा ३ अर्ब ३९ करोड, असोजमा २ अर्ब ९६ करोड, कात्तिकमा २ अर्ब ५१ करोड र मङ्सिरमा २ अर्ब ६१ करोड रुपैयाँ बीमाशुल्क उठाएका थिए ।
बैंकहरूले ऋण प्रवाह गर्दा लिने धितोको अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था छ । तरलता अभावका कारण बैंकहरूको कर्जा लगानी ठप्प प्राय: छ । यसैगरी सरकारले सवारीसाधन आयातमा गरेको कडाइका कारण पनि निर्जीवन बीमा व्यवसायमा प्रभाव परेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले आर्थिक गतिविधि घटेसँगै गिरावट आएको निर्जीवन बीमा व्यवसायमा मङ्सिरदेखि केही सुधार देखिएको बताए ।
कुन कम्पनीको कति व्यवसाय ?
प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहेका १८ ओटा निर्जीवन बीमा कम्पनीमध्ये पुससम्ममा ९ ओटाले अर्बभन्दा माथि व्यवसाय गरेका छन् । चालू आवको पुससम्ममा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले २ अर्ब ६५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै सबैभन्दा कम नेशनल इन्स्योरेन्सले ४९ करोड ४० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।