ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बागमती प्रदेशले साना र टुक्रे आयोजनामा खर्च नगर्ने

२०७९ माघ, २२  
बागमती प्रदेश
Tvs Raider Image Not Found

काठमाडौं । बागमती प्रदेश सरकारले साना तथा टुक्रे आयोजनाको विकल्पमा ठूला र धेरै लाभ दिने परियोजनाको विकासलाई प्रमुख प्राथमिकता दिने भएको छ । टुक्रे र साना आयोजना अत्यधिक रहेका र त्यसले कुनै पनि प्रतिफल नदिएको निष्कर्ष निकाल्दै ठूला र रणनीतिक महत्वका आयोजनालाई अगाडि बढाउने तयारीका साथ प्रदेश सरकार अगाडि बढेको छ ।   

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले भने, ‘सकेसम्म साना र टुक्रे आयोजनालाई कम गर्दै ठूला र धेरैलाई लाभ प्रदान गर्ने ठूला एवं महत्वपूर्ण परियोजना अगाडि बढाउने गरी काम अगाडि बढाइएको छ ।’ उनका अनुसार साना आयोजनामा गरिएको लगानी ‘बालुवामा पानी’ भनेजस्तै भएको छ । राज्यका साधन र स्रोतको खर्च भए पनि त्यसबाट अपेक्षित लाभ हासिल हुनसकेको छैन ।    
 
शनिवार सञ्चारकर्मीहरूसँगको कुराकानीमा मुख्यमन्त्री जमकट्टेलले प्रदेश सरकारले देखिने गरी काम गर्ने तयारी गरेको र सङ्घीयताको अनुभूति दिलाएरै छाड्ने दृढता व्यक्त गरे । संघीय राजधानी काठमाडौंबाहेकका १० जिल्लामा नै ठूला आयोजनालाई केन्द्रित गर्न खोजिएको उनको भनाइ छ । उनले हरेक वर्ष विकास निर्माण खर्च बढ्न नसकेको अवस्थामा नयाँ सोच अगाडि सारिएको जानकारी दिए ।     

उनले भने, ‘बागमती प्रदेश सरकारको नेतृत्व सम्हालेपछि नै विकास खर्च बढाउने सोचका साथ काम शुरू गरेको छु । हालको विकासको मोडलबाट समृद्धिमा पुग्न सकिँदैन ।’ उनले सरकारको खर्च टुक्रे आयोजनामा गएको बताए । रू. १० देखि ५० लाखसम्मका आयोजनामा हुने खर्चले कुनै प्रतिफल हासिल हुन नसकेको मुख्यमन्त्री जमकट्टेलको भनाइ छ ।     

ठूला आयोजनामा जानै नचाहने सोच जबर्जस्ती रूपमा स्थापित छ । जमकट्टेलले भने, ‘ठूला आयोजनामा धेरै जोखिम छ । झमेला पनि उस्तै छ । आम मानिस त्यसमा प्रवेश गर्न नै चाहँदैनन् । सानामा रमाउने, ठूलामा जानै नचाहने प्रवृत्ति छ । यसमा सुधार जरुरी छ ।’

थोरै र कम बजेट विनियोजन गरिएका साना आयोजना भनेका बाटो ढलान गर्ने र साना खानेपानीमा धेरै छन् । त्यस्ता टुक्रे आयोजना रोक्नुपर्छ भन्ने सोच आफ्नो रहेको उनले बताए । संघीय सरकारले पनि रू. २ लाखदेखि रू. ५ लाखसम्मका ७ आयोजना सर्शत अनुदानका रूपमा पठाइरहेको छ । त्यसलाई रोक्नुपर्ने उनको भनाइ छ ।     

उनले भने, ‘हामी ठूला आयोजनामा प्रवेश नै गर्न चाहँदैनौं । त्यसमा रिस्क छ । झमेला छ । सोही कारण साना आयोजनामा रमाउने, ठूला आयोजनामा जान नचाहने प्रवृत्ति छ । ठूला आयोजना सम्पन्न गर्‍यौँ भने बजेट खर्च हुन्छ, समृद्धि पनि प्राप्त हुन्छ ।’     

उनले साना तथा टुक्रे आयोजना स्थानीय तहमा नै जानुपर्ने र त्यसका लागि प्रदेश सरकारका तर्फबाट अनुदान बढाइदिने उल्लेख गरे । उनले हाल कायम रहेको विकासको मोडल बदल्नु पर्ने बताए । मुख्यमन्त्री जमकट्टेलले आगामी आवदेखि साना आयोजनामा बजेट नै विनियोजन नगर्ने बताए । ‘हामी त्यसको प्रयास गर्छौँ । रू. ५० लाखभन्दा कम बजेटका आयोजना नपठाउने सोच बनाएका छौँ’ मुख्यमन्त्री जमकट्टेलले भने ।     

हरेक पालिकाको केन्द्रसम्म सडक कालोपत्र गर्ने र प्रदेशभित्रका सबै पालिकालाई कालोपत्र सडकले जोड्ने सोच अगाडि सारिएको उनको भनाइ छ । मानव विकासको सूचकाङ्कमा पछाडि परेको प्रदेशभित्रैको धादिङकोे रुवि भ्यालीको विकासका लागि एकीकृत विकास कार्यक्रम अगाडि बढाइने उनले बताए ।    
 
संघीयताको विषयमा नकारात्मक सोच विकास हुनुको पछाडि संघीय सरकारको नेतृत्वमा रहेका मानिसहरूको सोचले पनि काम गरेको उनको भनाइ छ । संघीय शासन व्यवस्थामा गइसकेपछि तीनै तहको सरकारको आ–आफ्नै खालको भूमिका रहन्छ भन्ने तथ्य स्थापित भएको मुख्यमन्त्री जमकट्टेलले उल्लेख गरे । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)