ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

भारतीय धनाड्यहरूको रोजाइमा पर्दै गेटा आँखा अस्पताल : ३०० किलोमिटर यात्रा गरेर नेपालमा उपचार

२०७९ माघ, २३  
स्वास्थ्य र जीवन शैली
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । भारतको उत्तरप्रदेशबाट आएका जितेन्द्र शर्मा धनगढीस्थित नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको गेटा आँखा अस्पताल परिसरमा भेटिए । उनी आफ्ना पाँचजना आफन्तको आँखाको शल्यक्रिया गराउन ३०० किलोमीटरको यात्रा गरेर धनगढी आएका हुन् ।

जितेन्द्र पहिलोपटक गेटा अस्पताल आएका भने होइनन् । साधारण नेपालीसमेत बोल्न जान्ने उनले अहिलेसम्म आफ्नो गाउँबाट करीब ५०० जनालाई उपचार गराउन गेटा अस्पताल ल्याइसकेको बताए । भारतमा आफ्नो घरबाट करीब ३० किलोमीटरको दूरीमा आँखा अस्पताल भए पनि गेटाको गुणस्तरीय स्वास्थ्य सेवा र सुलभ उपचार शुल्कका कारण आफूहरू भारतमा उपचार नगराई यहाँ आउने गरेको उनले सुनाए ।

‘अहिलेसम्म मैले ल्याएका सबैको उपचार एकदमै राम्रो भएको छ । हाम्रो जिल्लामा यहाँ गरेको जस्तो उपचार हुँदैन,’ उनले भने । भारतमा मोतिबिन्दुको शल्यक्रिया गर्दा करीब १५ हजार रुपया खर्च हुने, तर नेपालमा आउने–जाने भाडा र खानासहित ६ हजार रुपयामै उपचार हुने भएकाले आफ्नो जिल्लाका अधिकांश आँखारोगी यहीँ आउने गरेको उनले बताए ।

उत्तरप्रदेशकै कर्नाेल जिल्लाबाट मोतिबिन्दुको शल्यक्रियाका लागि नेपाल आएका ७५ वर्षीय नथ्थु सिंह प्रसन्न मुद्रामा भेटिए । करीब २ वर्षदेखि मोतीबिन्दुका कारण राम्रोसँग आँखा नदेखेका उनले शल्यक्रियापछि आफूले नयाँ जीवन पाएको अनुभव सुनाए । आफ्नो घरबाट १० किलोमीटर दूरीमै आँखा अस्पताल भए पनि उनलाई त्यहाँभन्दा नेपालमै आँखा उपचार गराउन मन लाग्यो । ‘आफ्नो छिमेकी र पहिले यहाँ आएर उपचार गराएका आफन्तको कुरा सुनेपछि यतै आएँ,’ उनले भने ।

गेटा आँखा अस्पतालमा आँखा परीक्षण गराउन आउने बिरामीमध्ये ५० प्रतिशत भारतीय नै हुन्छन् । पहिले पहिले सामान्य आय भएका निम्न वर्गका भारतीयहरू मात्रै आउँने अस्पतालमा अहिले भने धनाड्यहरू पनि आउने गरेका छन् । निम्न वर्गका मानिसहरू पैसा जोगाउनका लागि आएपनि धनाड्यहरू भने गुणस्तरीय उपचार पाइने भएर नैं नेपाल आउने गरेका हुन् ।

गेटा अस्पतालमा हुने आँखाको शल्यक्रिया मध्ये ६० प्रतिशतभन्दा धेरै भारतीयको मात्रै हुने गरेको अस्पताल प्रशासनले बताएको छ ।

अस्पतालले नेपालीका लागि सुदूरपश्चिम प्रदेशका महेन्द्रनगर, डँडेलधुरा र टीकापुरमा दोस्रो तहका अस्पताल स्थापना गरी सेवा प्रवाह गर्दै आएको छ । साथै धनगढीमा हप्तामा एकपटक र कञ्चनपुरको बेलौरीमा महीनामा एकपटक शल्यक्रिया सेवा दिने गरेको छ । गत आर्थिक वर्षमा अस्पतालमा १९ हजार ५८१ जनाको आँखाको शल्यक्रिया भएको थियो, जसमध्ये ११ हजार ५९२ जना भारतीय नागरिक थिए । उक्त अवधिमा अस्पतालबाट ८ हजार २३६ जना भारतीयको मोतिबिन्दुको शल्यक्रिया भएको अस्पतालको तथ्यांक छ ।

सन् १९८१ मा स्थापना भएको गेटा आँखा अस्पतालले १८ ओटा आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । अस्पतालले प्रदेशका ९ ओटै जिल्लामा आँखा उपचार सेवा पुर्‍याएको अस्पतालका आउटरिच म्यानेजर रमेशचन्द्र भट्टले बताए ।

गतवर्ष गेटा आँखा अस्पताल र मातहतका केन्द्र तथा शिविरबाट २ लाख ५१ हजार ८३१ जनालाई सेवा प्रदान गरिएको थियो । तीमध्ये २४ हजार १४१ जनाको शल्यक्रिया भएको थियो । अस्पतालले हरेक वर्ष ६० भन्दा धेरै ठाउँमा आँखा उपचार शिविर निःशुल्क सञ्चालन गर्ने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Rajput Nar bahadur Shah

[Feb 7, 2023 12:52pm]

Very good deed. Thanks to everyone of Geta hospital Keep up the sprit of wellbeing of humanity.



   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)