काठमाडौं । पछिल्लो समय मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चिति बढेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएकाे छ । राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत असारको तुलनामा पुस मसान्तसम्ममा कूल विदेशी मुद्राको सञ्चिति १० प्रतिशतले बढेको हो ।
गत असार मसान्तमा मुलुकको विदेशी मुद्राको सञ्चिति रू. १२ खर्ब १५ अर्ब ८० करोड रहेकोमा पुस मसान्तमा रू. १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा रू. ९ अर्ब ५४ करोड रहेकोमा पुस मसान्तमा बढेर रू. १० अर्ब ३० करोड कायम भएको छ । यो असार मसान्तको तुलनामा ८ प्रतिशतले बढी हो ।
कूल विदेशी मुद्राको सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति पनि बढेको छ । गत असार मसान्तमा रू. १० खर्ब ५६ अर्ब ३९ करोड विदेशी मुद्राको सञ्चिति रहेकोमा पुस मसान्तमा रू. ११ खर्ब ८३ अर्ब ३७ करोड पुगेको छ ।
यस्तै बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी मुद्राको सञ्चिति भने घटेको छ । गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थासँग रू. १ खर्ब ५९ अर्ब ४१ करोड विदेशी मुद्राको सञ्चिति रहेकोमा पुस मसान्तमा रू. १ खर्ब ५३ अर्ब ९१ करोडमा सीमित भएको छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थासँग विदेशी मुद्राको सञ्चिति ३.४ प्रतिशतले घटेको हो ।
पुस मसान्तको कूल विदेशी मुद्राको सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत छ ।
अहिलेको विदेशी विनिमय सञ्चिति १०.४ महीनाको वस्तु आयात र ९.१ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।