काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा दयाराम शर्मा चयन भएका छन् । कम्पनीको २०३औं सञ्चालक समितिको बैठकबाट शर्मा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् । शर्माले सोमवार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनासँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
तत्कालीन अध्यक्ष रामबहादुर मानन्धरको नेपाल राष्ट्र बैंकमा विभागीय जिम्मेवारी परिवर्तन भएपछि शर्माले एनसीएचएलमा प्रतिनिधित्व गरेका हुन् । एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरू स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो ।