तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका–७ की अनिता विकले क्रिष्टलका गहना बनाउने शीप सिकिन् । शीप सिकेपछि अब उनलाई आत्मनिर्भर बन्ने जोश बढेको छ । म्याग्दे गाउँपालिकाले शीपमूलक तालिम प्रदान गरेपछि विक अब आफैं उद्यमी बन्ने तयारीमा छन् ।
‘अहिलेसम्म घरायसी काममा व्यस्त रहँदै आएको छु, गाउँपालिकाले शीप सिकायो,’ विकले भनिन्, ‘अब उद्यमी बन्ने सोचेको छु ।’ विकले घरमै यत्तिकै बस्नुभन्दा आयआर्जनतर्फ लाग्न सके आत्मनिर्भर बनिने बताइन् ।
सोही ठाउँकी विष्णु श्रेष्ठ शीप सिकेपछि आयआर्जनतर्फ लाग्ने बाटो खुलेको बताउँछिन् । ‘तालिमले शीप सिकायो, अब शीपको सदुपयोग गरेर आत्मनिर्भरको बाटोमा अगाडि बढ्छु,’ उनले भनिन्, ‘क्रिष्टलका गहना बनाएर विक्री गर्न सकिए राम्रो आम्दानी हुन्छ ।’ श्रेष्ठले आफूहरूले उत्पादन गरेको गहना बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाएकाले उत्साह जागेको बताइन् ।
स्थानीयस्तरमा आयोजना हुने कार्यक्रमका लागि माला बनाएर बिक्री गर्न सकिनेमा स्थानीय शिवकुमारी राना विश्वस्त छिन् । ‘टोल–टोलमा कार्यक्रम हुन्छन्, त्यहाँ स्थानीयस्तरमै उत्पादित माला विक्री वितरण गर्न सकिन्छ, यसले गर्दा आयआर्जन पनि हुने,’ उनले भनिन् ।
आफूलाई आवश्यक परेको र प्रयोग गर्दै आएका सबै सामान आफैले बनाउन सक्ने भएपछि गङ्गा श्रेष्ठले अब शीपलाई निरन्तरता दिने बताइन् । ‘दुबोको माला, फाइवरको माला आफैले बनाउन सक्ने भएका छौं, स्थानीय कार्यक्रममा बाहिरबाट किनेर ल्याउने माला अब आफैले बनाएर विक्री गर्न सक्छौं,’ उनले भनिन् ।
थोरै लगानीमा पनि व्यवसाय विस्तार गर्न सकिने भएकाले अब यसतर्फ लाग्ने उनले बताइन् ।
म्याग्दे गाउँपालिकाले यहाँका महिलालाई शीपमूलक तालिम दिन थालेपछि उनीहरू उत्साहित भएका छन् । महिलालाई शीप सिकाइ आयआर्जनतर्फ लैजान खोजिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । ‘यहाँका महिलालाई मागका आधारमा शीपमूलक तालिम दिन थालेका छौं,’ उनले भने ।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत गाउँपालिकाले महिलालाई शीपमूलक तालिम प्रदान गरिरहेको फोकल पर्सन एवं अधिकृत प्रदीप न्यौपानेले बताए । उनका अनुसार घरायसी कामकाजमा व्यस्त रहने महिलालाई शीप सिकाएर आत्मनिर्भर बनाउन विभिन्न तालिम दिन शुरु गरिएको छ। ‘माग र आवश्यकताका आधारमा विभिन्न शीपमूलक तालिम दिइरहेका छौं,’ उनले भने, ‘यसले गर्दा महिलालाई आयआर्जनमा सहयोग पुग्ने विश्वास लिएका छौं ।’
गाउँपालिकाले म्याग्दे–२, जामुनेका महिलालाई अचार बनाउने तालिम प्रदान गरेको छ । सो क्रममा १९ महिलालाई १५ प्रकारका अचार बनाउने शीप प्रदान गरिएको छ । म्याग्दे गाउँपालिकाका श्रीप्रसाद श्रेष्ठले महिला शीप सिकेर आत्मनिर्भर बन्नुपर्ने बताए । रासस