काठमाडौं । सनराइज क्यापिटलले माघ १० गतेदेखि निष्कासन तथा विक्री खुला गरेको सनराइज फोकस्ड इक्विटी फण्डको इकाईमा आवेदन दिने अन्तिम दिन आज बैंकिङ्ग समयसम्म रहेको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई निष्कासन गरेको हो । सोमध्ये १ करोड ८० लाख वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक सनराइज बैंक लिमिटेडलाई सुरक्षित राखिएको छ भने बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक रूपमा विक्रीमा ल्याएको हो ।
लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।
सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने सो फण्ड बन्दमुखी योजना हो । यस योजनाको अवधि बाँडफाँट भएको मितिले १० वर्ष हुनेछ । सोपश्चात् योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले प्रचलित कानूनबमोजिम वितरण गरिनेछ ।
फण्डको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एपमार्फत् पनि उक्त इकाईमा आवेदन दिन सकिनेछ ।