धेरैले मौद्रिक नीतिले मार्जिन कर्जामा लगाएको १२ करोडको सीमा हटाउँछ र बजार बढ्छ भनेर आशा गरेका थिए । तर, राष्ट्र बैंकले यो व्यवस्थालाई हटाएन । नेपाल राष्ट्र बैंकले यसअघि शेयरबजारप्रति लचिलो बन्ने संकेत देखाए पनि मौद्रिक नीतिको समीक्षामा भने त्यसअनुसार काम गरेन ।
यसअघि शेयर धितो कर्जामा ४/१२ करोडको सीमा तोकेको थियो । राष्ट्र बैंकले ४ करोडको सीमा हटाएर १२ करोडको सीमा यथावत् राखेको थियो । यो सीमा हटाउने अपेक्षा आम शेयर लगानीकर्ताको थियो । उनीहरूले राष्ट्र बैंकलाई उक्त सीमा हटाउन सुझाव पनि दिएका थिए । तर, समीक्षामा भने राष्ट्र बैंकले सम्बोधन गरेन ।
शेयर लगानीकर्ताका माग राष्ट्र बैंकले सुनुवाइ नगर्नु विडम्बना भएको लगानीकर्ताको भनाइ छ । ३२ सय सूचक नाघेको नेप्से अहिले २१/२२ सयको हाराहारीमा नाचिरहेको छ । १८ सयको विन्दुमा झर्न आँटेको शेयरबजार अहिले आर्थिक परिसूचकमा सुधार आएसँगै केही उकालो लाग्न थालेको छ । शेयर धितो कर्जा बढे बजार बढ्ने अपेक्षामा केहीले लगानी थपेका पनि थिए । तर, अहिले उनीहरू निराश देखिएका छन् ।
शेयरबजारलाई अर्थतन्त्रको ऐना भनिए पनि नेपालमा त्यस्तो देखिँदैन । अर्थतन्त्रका सूचक नकारात्मक देखिँदा पनि बजार उकालो लागेको पाइन्छ । नेपालको शेयरबजार प्राविधिक विश्लेषण र आधारभूत सूचकांकले पनि निर्देशित नगर्ने खालको छ । त्यसैले कति बेला के हल्ला आउँछ बजार ≈वात्त बढ्छ अनि बजार बिस्तारै घट्दै जान्छ । रकम पनि घट्दै जान्छ र नयाँ लगानीकर्ता नराम्ररी फस्छन् । यही क्रम बारम्बार भइरहेको छ । त्यसो त भित्री कारोबार पनि भइरहेको छ भन्ने मानिन्छ । केही ब्रोकरले पनि बजारमा चलखेल गरेको विश्लेषण भइरहेको छ । जे भए पनि नेपालको शेयरबजार फन्डामेन्टल आधारमा भन्दा पनि हल्ला र लहडका आधारमा चलेको छ भन्न सकिन्छ । अब आइतवार बजार खुल्दा मौद्रिक नीतिले कस्तो असर पार्ने हो अन्योल देखिएको छ ।
मोहन घर्ती
अनामनगर, काठमाडौं