अहिलेको सत्ता पक्षको गठबन्धनमा समस्या आउने संकेत देखिएको छ । सबै दलले आफ्नो दलको व्यक्तिलाई राष्ट्रपति बनाउन कम्मर कसेर लागिपरेका छन् । सत्तारूढ माओवादीले अहिले बोली फेर्न थालेको छ । आ्फनो दलका नभए सर्वमान्य व्यक्ति राष्ट्रपति हुनुपर्ने उसको भनाइ आएपछि सत्ता घटकमा विवाद बढ्न थालेको देखिन्छ ।
पुस १० मा ओलीनिवास बालकोटमा एमाले र माओवादी केन्द्रबीच भएको सहमतिले दाहाललाई प्रधानमन्त्री बनाएको हो । राष्ट्रपति र सभामुख एमालेको भागमा जान नेताहरू सहमत भएका थिए । तर, प्रधानमन्त्रीले आजको बैठकमा राष्ट्रपति राष्ट्रकै अभिभावक भएकाले त्यसमा व्यक्ति छनोट हुँदा साझा एकताको सन्देश जानुपर्ने तर्क गर्न खोजे । तर, ओलीले कांग्रेसको भ्रममा नपर्न र अरू कुनै किसिमको टिप्पणी गरेर समझदारी नबिगार्न परोक्ष चेतावनी दिए ।
राष्ट्रपति पदका लागि आकांक्षी देखिएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पछिल्लो ट्वीटमा उक्त पदको चुनावले देशमा थप कम्पन ल्याउन सक्ने देखिएको संकेत गरेका छन् । उनले भूराजनीति पनि यसै वरिपरि तात्तिएको बताए । उनी पनि राष्ट्रपतिको चाहनामा छन् । दाहाल कांग्रेस नेता कृष्णप्रसाद सिटौला, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ वा यस्तै कुनै पात्रलाई राष्ट्रपतिमा देख्न चाहन्छन् ।
विगतका दुई राष्ट्रपतिबाट दलीय चिन्तनभन्दा माथि उठ्न नसकेकाले अहिले ओली र दाहाल आफू अनुकूलको राष्ट्रपति ल्याउन मरिहत्ते गरिरहेका छन् । भारत, चीन, अमेरिका, बेलायत, यूरोपेली संघलगायत देशका कूटनीतिज्ञका सिलसिलेवार नेपाल भ्रमणका पछाडि पनि राष्ट्रपति चुनाव जोडिएको धेरैको भनाइ छ । चैत १५ मा हुने डेमोक्रेसी समिटका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनले दाहाललाई निम्तोपत्र पठाइसकेका छन् । भारतले त्यसभन्दा अगावै प्रधानमन्त्रीलाई नयाँ दिल्लीमा आमन्त्रित गरेको छ । चीनले पनि आफू अनुकूल राष्ट्रपति ल्याउन खोजेको देखिन्छ । त्यसैले अहिले राष्ट्रपति पद निकै संवेदनशील देखिन्छ ।
श्यामप्रकाश भण्डारी
मनमैजु, काठमाडौं